Follow @khasokhasmag

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर


प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार

नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमति गरेका छन् । उनले प्राविधिहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताए ।

मेयर शाहले नियम सबैलाई बराबर हुनुपर्ने बताए । उनले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए । उनले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए । अस्पताललाई मन्त्रिपरिषद्‍ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने मेयर शाहले बताए ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताए । उनले अझै अस्पतालसँग सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको बताए । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने बताए ।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com