फेरि एक महिना बढ्यो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि, ‘एफ-टु-ए’ भने करेन्ट


प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले सेप्टेम्बर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अगस्तको भिसा बुलेटिनको तुलनामा  सेप्टेम्बरमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने मितिमा टसमस भएको छैन । ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि टसमस भएको छैन ।

ग्रिनकार्ड पाउने मिति डिसेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित  श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ ।

परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय अगस्तको तुलनामा  सेप्टेम्बरमा  अझ एकमहिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

सेप्टेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ७ बर्ष १० महिना  पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि ७ पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १३ बर्ष १० महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १५ बर्ष ६ महिना पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com