अमेरिकामा पेट्रोल सस्तिदै, देशब्यापी औषत मूल्य ४ डलर ८ सेन्टस


प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार

अमेरिकामा पेट्रोलको मूल्य सस्तिदै गएको छ । पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ४ डलर ८ सेन्टस भएको छ । माग घट्दै गएपछि पेट्रोलको मूल्य अमेरिकाका २२ वटा राज्यहरुमा प्रति ग्यालेन ४ डलरभन्दा कम भएको छ ।

दक्षिणी र मध्यपश्चिमी राज्यहरुमा पेट्रोलको मूल्य औषतमा सबैभन्दा कम भएको छ । टेक्सासमा प्रति ग्यालेन औषतमा ३ डलर ५९ सेन्टस र साउथ क्यारोलिनामा ३ डलर ६२ सेन्टसमा झरेको छ । त्यस्तै अर्कान्सासमा ३ डलर ६४ सेन्टसमा झरेको छ ।

जर्जिया, ओक्लाहोमा, टेनेसी, मिसिसिपी, अलाबामा, केन्टकी, मिजौरी, कन्सास, आयोवा, लुजियाना, विसकन्सिन, ओहायो, नर्थ क्यारोलिना, फ्लोरिडा, न्यु मेक्सिको, भर्जिनिया, नेब्रास्का, डेलावर र इन्डियानामा पनि पेट्रोलको मूल्य प्रतिग्यालेन ४ डलरभन्दा कम भएको छ । अमेरिकाका कम्तीमा १२ वटा ग्यास स्टेशनले त प्रति ग्यालेन ३ डलरभन्दा कममा पेट्रोल बेचिरहेका छन् । जसमध्ये ४ वटा आयोवमा, ३ वटा टेक्सासमा, ३ वटा ओक्लाहोमामा र २ वटा कन्सासमा छन् ।

अमेरिकामा अहिले पेट्रोलको मूल्य सामान्यतया ३ डलर ७९ सेन्टस रहेको छ । तर ४ वटा राज्यमा अहिलेपनि प्रति ग्यालेन ५ डलरभन्दा माथि छ । क्यालिफोर्नियामा औषत ५ डलर ४७ सेन्टस, हवाईमा ५ डलर ४२ सेन्टस, अलास्कामा ५ डलर १ सेन्टस र नेभाडामा ५ डलर रहेको छ । क्यालिफोर्नियाका ४ वटा काउन्टीमा भने प्रति ग्यालेन ६ डलरभन्दा माथि छ । अल्पाइन काउन्टीमा औषतमा प्रति ग्यालेन ६ डलर ८० सेन्टस रहेको छ ।

आगामी साता देशव्यापी रुपमा औषत मूल्य ४ डलरभन्दा कम हुने प्रक्षेपण गरिएको छ । आगामी केही साताहरुमा ३ डलर ५९ सेन्टसमा झर्ने अनुमान छ । मध्य जुनमा अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालेन औषतमा ५ डलर २ सेन्टस पुगेको थियो । त्यो यताका ५३ दिनमा घट्ने क्रम जारी नै रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com