स्वास्थ्य र जलवायु विधेयक पारित गर्न अमेरिकी सिनेटमा रातभर भोट-अ-रामा


प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार

व्यापक स्वास्थ्य सेवा र जलवायु विधेयक पारित गर्न अमेरिकी सिनेटमा रातभर भोट अ रामा प्रकृया अपनाइएको छ । शनिबार राती साढे ११ बजे सुरु भएको यो प्रकृया आइतबार विहानसम्म चलेको थियो । यो प्रकृया विधेयक पारित गर्ने अन्तिम चरणमध्येको एकपछि अर्को संशोधन भोटहरूको श्रृंखला हो ।

संशोधनको मत सकिएपछि विधेयक पारित गर्नका लागि अन्तिम मतदान हुनेछ । जसको समय अझै स्पष्ट छैन। यो बिलले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो जलवायु लगानीको प्रतिनिधित्व गर्नेछ । त्यस्तै मेडिकेयरलाई निश्चित औषधिहरूको मूल्यमा मोलतोल गर्न र म्याद सकिने स्वास्थ्य सेवा अनुदानहरू तीनबर्षका लागि विस्तार गर्न पहिलो पटक शक्ति प्रदान गर्नेछ ।

यो प्याकेजले डेमोक्र्याटहरूलाई आगामी मध्यावधि चुनाव अघि प्रमुख नीतिगत उद्देश्यहरू हासिल गर्ने मौका दिनेछ। सिनेट डेमोक्र्याटहरूले रिपब्लिकन भोट बिना प्याकेज पारित गर्न विशेष प्रक्रिया प्रयोग गरिरहेका छन् । यो बिल सिनेटमा पारित भएपछि राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि प्रतिनिधि सभाले अनुमोदन गर्नुपर्नेछ।

विधेयकलाई अगाडि बढाउन प्रक्रियागत मतदान पछि सिनेटले भोट अ रामामा जानु अगाडि बहसमा प्रवेश गरेको थियो । अन्तिम मतदान अगाडि कुनै समय सीमा बिना संशोधन भोटहरूको म्याराथन शृंखला भोट अ रामा चलाइएको थियो ।

रिपब्लिकनहरूले भोट अ रामाको समयमा जलवायु र स्वास्थ्य हेरचाह विधेयकमा समावेश इन्सुलिन प्रावधानहरू हटाउने प्रयास गर्ने अपेक्षा डेमोक्र्याट्सहरुको छ । बिलका प्रावधानहरूले निजी बीमा बजारमा साथै मेडिकेयर मार्फत इन्सुलिनको मूल्य ३५ डलरमा सिमित गर्छ ।

सिनेट डेमोक्र्याटहरूलाई यो बिल पारित गर्न साधारण बहुमत भए पुग्छ । किनकि उनीहरूले बजेट प्रक्रिया प्रयोग गरिरहेका छन् । यो प्रकृयाबाट बिल पारित गर्दा फिलिबस्टर ६० भोटको आवश्यकता पर्दैन । अर्थात् रिपब्लिकनको सहायता विना पनि बिल पारित हुनसक्छ ।

तर यो प्रक्रियाबाट विधेयक पारित गर्नका लागि प्याकेजले कडा बजेट नियमहरूको पालना गर्नुपर्छ। सिनेट पार्लियामेन्टेरियनले बजेट प्रक्रिया प्रयोग गर्न अनुमति दिनको लागि बिलमा भएका प्रावधानहरूले नियमहरू पालना गरे नगरेकोबारे निर्णय गर्नुपर्नेछ।

बिल पारित भएपछि जलवायु परिवर्तनसँग लड्ने, स्वास्थ्य सेवाको लागत घटाउने, धनीहरूले दुरुपयोग गर्ने कर छुटहरू बन्द गर्ने र घाटा घटाउने सबै लक्ष्यहरू पूरा हुने डेमोक्र्याट्सहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com