के ताइवानमाथि आक्रमण गरे चीन पनि आर्थिक रूपमा ध्वस्त हुनेछ ?


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

red national flag

अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्ति र धम्कीका बाबजुद ताइवानको यात्रा गरिन् । सो क्रममा उनले ताइवानका राष्ट्रपति साई इङ–वेनसँग पनि भेट गरिन् ।

चीनले यसलाई ‘एक चीन नीति’को उल्लङ्घन भएको भन्दै आगामी दिनमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।

यस बैठकको दूरगामी नतिजा के हुन्छ भन्न सकिने अवस्था छैन तर पेलोसीको यो भ्रमणका केही नतिजा विश्वसामु छन् ।

 पेलोसीको भ्रमणको नतिजा

चीनले ताइवान नजिकै भारी सैन्य अभ्यास गरिरहेको छ । आक्रोशित चीनले सैन्य अभ्यासका क्रममा समुद्रमा मिसाइल हानेर ताइवानको हवाई क्षेत्रमा घुसपैठ गरेको छ ।

चीन र ताइवानबीच जारी तनाव कम हुनुको साटो बढेको छ । सीमा उल्लङ्घनको सन्दर्भमा ताइवानले आफ्नो राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर कडा कारबाही गर्ने कुरा गरेको छ ।

आक्रोशित चीनले अमेरिकासँग धेरै विषयमा वार्ता तोड्ने घोषणा गरेको छ । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

चीनको सम्भावित आक्रमण र त्यसको नतिजा

न्योन्सी पेलोसी ताइवानबाट फर्किएपछि ताइवानी सञ्चारमाध्यममा चीनको सैन्य कारबाहीबारे धेरै कुरा लेखिएको छ ।

चीनको कारवाहीका सम्बन्धमा ताइपेई टाइम्सले आफ्नो सम्पादकीयमा चीनको सम्भावित आक्रमण र त्यसको नतिजाबारे एउटा लेख प्रकाशित गरेको छ ।
लेख ताइवान सेमीकन्डक्टर उत्पादन कम्पनीका अध्यक्ष मार्क लिउसँगको अन्तर्वार्ताबाट सुरु गरिएको छ ।

ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीका अध्यक्ष मार्क लिउले सीएनएनलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानमाथि आक्रमण गरे कम्पनीको प्लान्ट ध्वस्त हुने बताएका छन् । उनले यस्तो युद्ध कसैले पनि नजित्ने बताएका छन् ।

सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले चीन र ताइवान बीचको यो क्रस–स्ट्रेट द्वन्द्वले ताइवानको अर्थतन्त्रलाई मात्र ध्वस्त नपारी यसको प्रभाव सेमिकन्डक्टरको उत्पादनभन्दा धेरै परसम्म हुने बताएका छन् । यसले भूराजनीतिक परिदृश्यलाई परिवर्तन गर्नेछ ।

ताइवानमा आक्रमणले विश्वव्यापी रूपमा आर्थिक–अराजकता निम्त्याउन सक्छ । रुस–युक्रेनबीच चलिरहेको युद्धका बीचमा नै विश्वले यो महसुस गरिरहेको छ । अझ ताइवानमाथि आक्रमण भएमा यो अझ बढ्नेछ ।

यदि यस क्षेत्रमा युद्ध भयो भने यसले सिधै ढुवानीमार्गहरु अवरुद्ध गर्नेछ । यसको प्रत्यक्ष असर अमेरिका र चीनको अर्थतन्त्रमा पर्नेछ । यसको परिणाम क्रमशः नाकाबन्दी, प्रतिबन्ध र एकअर्काको सम्पत्ति जफतका रूपमा देखा पर्न थाल्नेछ ।

अमेरिकी ट्रेजरी सेक्रेटरीले पनि अप्रिल ६ मा चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले प्रतिबन्ध लगाउने बताएका थिए ।

अमेरिका र युरोप

अमेरिकी नेताहरूबाट जुन किसिमका भनाइहरू आइरहेका छन्, त्यसले ती सम्भावित कारवाहीहरूलाई त्यहाँका जनताको पनि समर्थन रहने सम्भावना छ ।
हालैको एक सर्वेक्षणले द्वन्द्वको स्थितिमा अधिकांश मानिसहरू ताइवानको समर्थनमा रहेको खुलासा गरेको छ ।

चीनले आफूमाथि हमला र प्रतिबन्ध लगाएमा त्यसको प्रभाव सिमित हुन्छ भन्ने सोचेको हुनसक्छ । चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका विश्वका धेरै देशहरू यसमा निर्भर रहेको चीनको सोंच छ ।

तर रुसमाथि अमेरिका र युरोपले लगाएको प्रतिबन्धले अर्कै कथा बताउँछ । जबकि युरोप धेरै हदसम्म रूसको ऊर्जा स्रोतहरूमा निर्भर छ ।

ताइवान र दक्षिण कोरिया

यो वर्ष रुसको अर्थतन्त्र १० प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । यससँगै रुसले आफ्नो वैदेशिक ऋण तिर्न पनि चुकेको यो पहिलो पटक हो ।
सेमीकन्डक्टर, प्रमुख अटो पार्ट्स जस्तै ट्रान्समिसन बक्स र एयरब्यागहरू लगायत अन्य धेरै चीजहरू रसिया आफैंले सजिलै उत्पादन गर्न सक्दैन र हाल किन्न असमर्थ रहेको छ ।

चीनले माइक्रोचिपहरू बनाउँछ तर अझै पनि उत्कृष्ट गुणस्तरका चिपका लागि ताइवान र दक्षिण कोरियाबाट आयातमा निर्भर छ । यदि ताइवानमा आक्रमण भयो भने यसले चिप उत्पादन पनि प्रभावित हुनेछ ।

चिप–निर्माणको क्रममा कच्चा माल, रसायन, स्पेयर–पार्ट्स र सफ्टवेयर देखि सबै कुरा एकैपटक जडान गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा ताइवानमाथिको आक्रमणले सीधै चिपको उत्पादनलाई असर गर्छ ।

बेइजिङमाथि विश्वव्यापी प्रतिबन्ध लगाइयो भने दक्षिण कोरियाले पनि विरोध गर्दैन र चीनलाई चिप्स आपूर्ति बन्द गर्ने सम्भावना पनि धेरै छ ।

चीनको अर्थतन्त्र

यस्तो अवस्थामा एक आपसका सहयोगी चीन र रुसले उन्नत गुणस्तरका चिप्स पाएनन् भने पक्कै पनि उनीहरूका लागि ठूलो घाटा हुनेछ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा त्यसको परिणाम नराम्रो हुनेमा अलिकति पनि शंका छैन । चीनको अर्थतन्त्र धरापमा पर्न सक्छ ।

यससँगै चीनले रणनीतिक प्रभावका रूपमा ताइवानलाई लिएर चिन्तित देशहरूबाट सैन्य कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ । जापानी रक्षा अधिकारीहरूको प्रतिनिधिमण्डलले पनि गत हप्ता ताइवानका राष्ट्रपतिलाई पनि भेटेको थियो ।

प्रतिनिधिमण्डलको चार दिने भ्रमणका क्रममा ताइवान–जापान सुरक्षा सम्बन्धमा पारस्परिक सहयोगका विषयमा पनि छलफल भएको थियो ।
ताइवानमाथि आक्रमण गर्ने प्रयास सफल भए पनि त्यसको मूल्य चुकाउनुपर्ने कुरा चीनलाई सम्झाउन आवश्यक नभएको ताइपेइ टाइम्सले सम्पादकीयमा लेखेको छ ।

चीनको कारबाहीको जवाफ ताइवानले किन दिएन ?

ताइवानले आफ्नो सार्वभौमसत्ताको बारेमा लगातार बताइरहेको बेला चीनको क्षेप्यास्त्रको जवाफ किन दिइरहेको छैन भन्ने प्रश्न धेरैले उठाइरहेका छन् ।
ब्यालिस्टिक मिसाइलहरू आफ्नो लक्ष्यमा फर्कनुअघि पृथ्वीको सतहबाट करिब एक सय किलोमिटर माथि अन्तरिक्षमा नै रहन्छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले डोंगफेंग ब्यालिस्टिक मिसाइलको मुख्य उडान मार्ग वायुमण्डल बाहिर रहेको बताएको छ ।

यी क्षेप्यास्त्रहरू ताइवानमाथि उडेको कुरा सत्य भए पनि तिनीहरू अन्तरिक्षमा भएकाले त्यो क्षेत्रलाई देशको वायु–स्पेस मान्न नसकिने ताइवानको बुझाई छ । त्यसैले यसलाई सार्वभौमसत्तासँग जोड्नु पूर्ण रूपमा सही नभएको बुझाई छ ।

यो अन्तर्राष्ट्रिय रूपमा एक साझा बुझाइ हो कि हवाई क्षेत्र अन्तरिक्षमा विस्तार हुँदैन । यो अर्थमा चिनियाँ उपग्रहहरू हरेक दिन ताइवानमाथि उडान गरिरहेका हुन्छन् । यसको मतलब चीनले हरेक दिन ताइवानको सार्वभौमसत्ता उल्लंघन गरेको ठहर हुँदैन ।

 

चीनको गतिविधि शनिबार पनि जारी

शनिबार बिहान पनि धेरै चिनियाँ सैन्य–विमान र जहाजहरू ताइवान नजिकै गएका छन् । ताइवानका अनुसार शनिबार बिहान धेरै चिनियाँ सैन्य विमान र जहाजहरूले ताइवान नजिक गतिविधिहरू सञ्चालन गरेका छन् ।

ताइवानको रक्षा मन्त्रालयले चीनले आक्रमण गर्न खोजेको आरोप लगाएको छ । चीनको कारबाहीको जवाफमा ताइवानले रेडियो चेतावनी पठाएको छ र चिनियाँ विमानहरू ट्र्याक गर्न रक्षा–मिसाइल प्रणालीहरू तैनाथ गरेको छ ।

ताइवानबाट चीनको सबैभन्दा नजिकको मुख्य भूमि पिङटान टापुको छेउमा उडिरहेको चिनियाँ सैन्य हेलिकप्टर हेर्दै पर्यटकहरू । फोटो: एएफपी

यसैबीच जी–७ देशका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्तिमा चीनको प्रतिक्रियाले तनाव बढाउने र क्षेत्र अस्थिर हुने खतरा रहेको बताएका छन् ।
जी–७ देशका विदेशमन्त्रीहरूले चीनको हालैका धम्की र कार्यहरूप्रति चिन्ता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका हुन् । परराष्ट्र मन्त्रीहरूले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय यथास्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्न र क्रस स्ट्रेट मतभेदको शान्तिपूर्ण समाधानका लागि प्रयास गर्न आह्वान गरिएको छ ।

ताइवानका राष्ट्रपतिबाट आफ्ना जनतालाई विश्वस्त हुन आव्हान

ताइवानका राष्ट्रपति साई इङ–वेनले ताइवान वरिपरि चीनको सैन्य अभ्यास ताइवानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि गैरजिम्मेवारपूर्ण कार्य भएको बताएकी छिन् ।

चीनको पहिलो दिनको कारबाहीमा ११ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएपछि साई इङ–वेनले चार मिनेटको भाषण दिएकी थिइन् । साई इङ–वेनले चीनको कदमले ताइवानको यथास्थितिलाई मात्र असर नगरी तर ताइवानको सार्वभौमसत्ताको पनि उल्लङ्घन गरेको बताइन् । साथै यसले इन्डो–प्यासिफिक क्षेत्रमा तनाव बढाउनेछ ।

राष्ट्रपतिले बेइजिङलाई आत्मसंयमका साथ बस्न आह्वान गरेकी छिन् । आफ्नो सम्बोधनमा उनले सेनाले तयारी तीव्र पारेको र ताइवान वरपरका सबै सैन्य घटनाक्रममाथि निगरानी र नियन्त्रण रहेको बताइन् ।

उनले यस क्षेत्रमा सुरक्षाको खाडल नआउने गरी सरकारले सहयोगी राष्ट्रहरूसँग मिलेर काम गरिरहेको जनतालाई विश्वस्त गराएकी छिन् । आफ्ना जनतालाई सम्बोधन गर्दै उनले उनीहरूलाई सुरक्षित महसुस गर्न आग्रह गरेकी छिन् ।

ताइवान किन महत्वपूर्ण छ?

ताइवान चीनको दक्षिणपूर्वी तटबाट करिब १०० माइल टाढा रहेको एउटा टापु हो । ताइवान आफ्नो प्रान्त मध्येको एक रहेको र अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्ने चीनको विश्वास छ ।

अर्कोतर्फ ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र ठान्दछ । यसको आफ्नै संविधान छ र जनताद्वारा निर्वाचित सरकारद्वारा शासन गरिन्छ ।

ताइवानको स्याटेलाइट चित्र

यसलाई ‘फस्र्ट आइल्याण्ड चेन’ भनिने ती टापुहरूमा गनिन्छ, जसमा अमेरिकाको विदेश नीतिका लागि महत्वपूर्ण मानिने अमेरिका नजिकका क्षेत्रहरू समावेश छन्।

यी सबै टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्वपूर्ण छन्। यदि चीनले ताइवानलाई कब्जा गरेमा धेरै पश्चिमी विज्ञहरूको विचारमा यो पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्न स्वतन्त्र हुनेछ । त्यसपछि गुआम र हवाई टापुमा रहेको अमेरिकी सैन्य अड्डा पनि जोखिममा पर्न सक्छ । तर चीनले आफ्नो नियत पूर्णतया शान्तिपूर्ण रहेको दाबी गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com