अलिगढ मुस्लिम विश्वविद्यालयमा सनातन धर्म पढाई हुने


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा  स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ।

अलीगढ मुस्लिम विश्वविद्यालयका प्रवक्ता उमर सलीम पिरजादाले भने – ‘अलीगढ मुस्लिम विश्वविद्यालय एक समावेशी विश्वविद्यालय हो जहाँ सबै धर्मका विद्यार्थीहरू आउँछन्। त्यसैले हामीले इस्लामिक अध्ययन विभाग (एमए) मा सनातन धर्मको पाठ्यक्रम सुरु गरेका छौं।’

उमर पिरजादाले भने -‘विगत ५० वर्षदेखि अलीगढ मुस्लिम विश्वविद्यालयको धर्मशास्त्र विभागमा सबै वर्गका धर्महरू पढाइन्छ । अब त्यही श्रृंखलालाई अगाडि बढाउँदै स्नातकोत्तर तहका विद्यार्थीहरूलाई सनातन धर्मबारे पढाइनेछ ।’

अलीगढ मुस्लिम विश्वविद्यालयका संस्थापक सर सैयद अहमद खानको चाहना पनि सबै धर्मका विद्यार्थीहरूले यो विश्वविद्यालयमा शिक्षा पाऊन् भन्ने रहेको प्रवक्ताले बताए ।

इस्लामिक अध्ययन विभागका अध्यक्ष प्रोफेसर मोहम्मद इस्माइलले यस सम्बन्धमा उपकुलपतिलाई पत्र लेखेका छन् । पत्रमा इस्लामिक अध्ययन विभागमा नयाँ पाठ्यक्रम सुरु गर्न लागिएको उल्लेख छ । यस पाठ्यक्रमको नाम तुलनात्मक धर्म (सनातन धर्म) हो। अब विश्वविद्यालयका विद्यार्थीलाई पनि सनातन धर्मको पाठ पढाइने भएको छ ।

विश्वविद्यालयको इस्लामिक अध्ययन विभागले मौलाना अबुल आला मौदुदी र सैयद कुतुबलाई पाठ्यक्रमबाट हटाएको छ। यी विगत केही दशकदेखि ऐच्छिक विषयका रूपमा पढाइँदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com