नेपालमा ४ बर्षपछि र्‍याण्डी बेरी नामिबियाको राजदूत हुँदै, अनुमोदनका लागि सिनेटमा


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

नेपालमा झण्डै ४ बर्ष अमेरिकी राजदूत रहेका र्‍याण्डी बेरीलाई बाइडेन प्रशासनले नामिबियाको राजदूतमा गरेको नियुक्ती प्रस्ताव अनुमोदनका लागि सिनेटको क्यालेण्डरमा राखिएको छ । सिनेटको कार्यकारी क्यालेण्डर नम्बर ११२० मा राखिएको उनको नियुक्ती प्रस्ताव केही दिनमा पारित हुने अपेक्षा गरिएको छ ।

बुधबार बेरीको नियुक्ती प्रस्ताव सिनेटको क्यालेण्डरमा राखिएको हो । बुधबार नै सिनेटको वैदेशिक सम्बन्ध समितिले नियुक्तीका पक्षमा रिपोर्ट गर्न आदेश दिएपछि सिनेटर बब मेनेन्डेजले यसबारे रिपोर्ट गरेका थिए ।

गतसाता सिनेटको वैदेशिक सम्बन्ध समितिमा उनको नियुक्तीबारे सुनुवाई भएको थियो । सुनुवाई क्रममा बेरीले आफू कोलोराडोको छैठौं पुस्ता रहेको र आफ्नो विदेश सेवा क्यारिअरले कोलोराडोको रकी माउन्टेनबाट आफूलाई नेपालका हिमालयसम्म लगेको बताएका थिए । बेरी सन् २०१८ को अक्टोबर २५ देखि नेपालका लागि अमेरिकी राजदूत रहेका थिए ।

उनको कार्यकालमा एमसीसीको अनुमोदनदेखि केही उच्च पदस्थ नेपाल भ्रमणहरु समेत भएका छन् । एमसीसीका सन्दर्भमा कडा दवावको सामना गरेका उनले एमसीसीको बचाउ र राजनीतिक दलका नेताहरुसागको भेटघाटमा समेत लामो समय खर्चनु परेको थियो । जुन २२ मा ह्वाइट हाउसले बेरीको नियुक्ती प्रस्ताव सिनेटमा पठाएको थियो ।

सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसकेका छन् । उनले सन् २००७ देखि ९सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए । बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको रुपमा काम गरेका थिए ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । आफैं पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

त्यस्तै काठमाडौंस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुएल पी माइकलर जुनियरलाई पनि बाइडेन प्रशासनले गत जुन २२ मा ताजिकिस्तानका लागि अमेरिकी राजदूतमा नियुक्ती प्रस्ताव गरेको छ । उनको नियुक्ती प्रस्ताव जुलाई ११ मा सिनेटमा पठाइएको थियो ।

सिनेटको वैदेशिक सम्बन्ध समितिमा सुनुवाई भने अझै तय भएको छैन । वैदेशिक सम्बन्ध समितिको सुनुवाईपछि नियुक्ती प्रस्ताव सिनेटको पूर्ण बैठकमा जानेछ । त्यहाँ पारित भएमा उनी ताजिकिस्तानका लागि राजदूत नियुक्त हुनेछन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com