जी-७ देशलाई चीनको जवाफ : ‘जी ७ समूहले विश्वको प्रतिनिधित्व गर्दैन,यो एकदमै सानो अंशको विचार हो’


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

ताइवानको मामिलामा जी–७ देशहरूको वक्तव्य आएपछि, चिनले कडा जवाफ फर्काएको छ ।  उनीहरुलाई जवाफ दिँदै चीनले जी–७ देशहरुले विश्व समुदायको प्रतिनिधित्व नगर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ’जी–७ ले विश्व समुदायको प्रतिनिधित्व गर्दैन भन्ने बिर्सनु हुँदैन। यसको विचार विश्वका देशहरूको एकदमै सानो अंशको विचार हो।

जी–७ लाई तानाशाह भन्दै उनले आक्रामक भएको आरोप लगाइन। जी–७ का विदेशमन्त्रीहरूले एक संयुक्त वक्तव्यमा भनेका छन्,‘चीनको प्रतिक्रियाले तनाव बढाउने र विश्वलाई अस्थिरतामा लैजाने खतरा बढेको छ ।’

चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।

चीनको कारबाहीपछि अमेरिकी सेनाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवानको दक्षिणपूर्वी समुद्रमा पठाएको छ ।

हालै, चीनको चेतावनीको बाबजुद, न्यान्सी पेलोसी ताइवानको यात्रा गरिन्। चीनले ताइवानलाई आफ्नो ‘एक चीन नीति’ को हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ ।
पेलोसीको भ्रमणपछि चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com