बाइडेन प्रशासनबाट मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

अमेरिकामा बाइडेन प्रशासनले बिहीबार मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको संख्या बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो । विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरेपनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन ।

स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना भइरहेको र केहीले सरकारलाई ढिलाइ नगरी राष्ट्रिय संकटकाल घोषणा गर्न आह्वान गरेको सन्दर्भमा बाइडेन प्रशासनले संकटकाल घोषणा गरेको हो ।

अमेरिकामा मेको मध्यमा मङकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो । त्योयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टी भएका र सम्भावित संक्रमणहरु भेटिएका छन् । मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ।

विश्व स्वास्थ्य संगठनले गत महिना मङकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल भएको घोषणा गरेको थियो । डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकटकाल एक असाधारण घटनाको रूपमा परिभाषित गर्दछ । रोगको अन्तर्राष्ट्रिय फैलावट मार्फत जनस्वास्थ्य जोखिम भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गर्दछ ।

न्युयोर्क शहर, सान फ्रान्सिस्को, क्यालिफोर्निया, इलिनोइस र न्युयोर्क राज्य लगायतका केही सहर र राज्यहरूले पहिले नै मङकीपक्स संकटकाल घोषणा गरिसकेका छन् । जसले गर्दा उनीहरुलाई प्रकोपको लागि साधनश्रोत परिचालन गर्न बाटो खुलेको छ ।

मङकीपक्स अहिलेसम्म विश्वका ७० भन्दा धेरै देशमा फैलिइसकेको छ । अब अमेरिकामा संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्न सक्नेछन् । त्यसका लागि पूर्ण संघीय पुनरावलोकनको आवश्यकता पर्नेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com