अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए


प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार

अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरीलाई सफलतापूर्वक निशाना बनाएको छ भने अमेरिकी कारवाहीमा जवाहिरी मारिएका छन् । अमेरिकाले ओसामा बिन लादेनलाई मारेको एघार वर्षपछि अलकायदाका अन्तर्राष्ट्रिय प्रतीकका रुपमा रहेका भर्खरै ७१ वर्ष पुगेका जवाहिरीलाई मारेको हो ।

कुनै बेला जवाहिरीले ओसामा बिन लादेनको व्यक्तिगत चिकित्सकको रूपमा काम गरेका थिए । न्युयोर्क टाइम्सका अनुसार जवाहिरी प्रतिष्ठित इजिप्शियन परिवारका व्यक्ति हुन् । उनका हजुरबुबा रबिया अलजवाहिरी कायरोको अल अजहर विश्वविद्यालयमा इमाम थिए। उनका काका अब्देल रहमान अजाम अरब लिगका प्रथम सचिव थिए।

अमेरिकी विदेश मन्त्रालयले जवाहिरीलाई सिधै पक्राउ गर्ने जानकारी दिनेलाई २५ मिलियन डलरसम्मको इनाम दिने प्रस्ताव गरेको थियो। जुन २०२१ को संयुक्त राष्ट्रको प्रतिवेदनले अफगानिस्तान र पाकिस्तानको सीमावर्ती क्षेत्रमा उनको बसोबास रहेको जनाएको थियो ।

हमलाको समयमा काबुलमा कुनै पनि अमेरिकी कर्मचारी मैदानमा थिएनन्। दुईवटा मिसाइलहरू प्रयोग गरेर स्थानीय समय अनुशार शनिबार विहान ६ बजेर १८ मिनेटमा उक्त आक्रमण गरिएको अमेरिकी अधिकारीहरुले पुष्टी गरेका छन् । अमेरिकाले शनिबारको हमला अघि तालिबान अधिकारीहरूलाई कुनै जानकारी दिएको थिएन ।

बाइडेनबाट जवाहिरी मारिएको पुष्टी

राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको भाषणमा अमेरिकी ड्रोन हमलाले अलकायदाका नेता अयमान अल जवाहिरीको हत्या गरेको पुष्टि गरेपछि न्याय प्रदान गरिएको बताएका छन् । जवाहिरीले अमेरिकी नागरिकहरू, अमेरिकी सेनाहरु, अमेरिकी कूटनीतिज्ञहरू, र अमेरिकी हितहरू विरुद्ध हत्या र हिंसाको रेखा कोरेको बाइडेनले बताए ।

अमेरिकाले ११ वर्ष पहिले बिन लादेनलाई न्याय दिएदेखि जवाहिरी अल कायदाका नेता रहेको तथा लुकेर उनले अलकायदाका शाखाहरू र विश्वभरका सबै शाखाहरूलाई समन्वय गरेको बाइडेनले बताए । जसमा अमेरिका विरुद्ध आक्रमणको लागि आह्वान गरिएको र प्रेरित गर्ने प्राथमिकताहरू तय गरिएको बाइरडेनको भनाई छ ।

अहिले न्याय गरिएको र अब आतंकवादी नेता नरहेको बाइडेनले बताए । संसारभरका मानिसहरू अब दुष्ट र दृढ हत्यारासँग डराउनु नपर्ने तथा अमेरिकाले आफूलाई हानि पुर्याउन खोज्नेहरू विरुद्ध अमेरिकी जनताको रक्षा गर्ने संकल्प र क्षमता प्रदर्शन गर्न जारी राखेको बाइडेनले बताए । अमेरिकी जनताको लागि खतरा हुनेलाई जतिसुकै समय लागेपनि र जहाँ लुकेपनि अमेरिकाले फेला पार्ने र बाहिर निकाल्ने बाइडेनले चेतावनी दिए ।

आक्रमणमा जवाहिरीका परिवारका कोही पनि सदस्य घाइते नभएको तथा त्यहाँ कुनै नागरिक हताहत नभएको बाइडेनले जानकारी दिए । यो मिसन सावधानीपूर्वक गरिएको तथा अन्य नागरिकहरूलाई हानि हुने जोखिमलाई कडाईका साथ कम गरिएको उनले बताए । एक हप्ता अघि अवस्था अनुकूल भएको जानकारीपछि आफूले आक्रमणको अन्तिम स्वीकृति दिएको र मिसन सफल भएको बाइडेनले बताए ।

‘जवाहिरीको मृत्युपछि अमेरिकी जनता र विश्व सुरक्षित’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकी जनता र विश्व सुरक्षित रहेको बताएकी छिन् । उनले ट्वीटरमार्फत काबुलको एक सुरक्षितघरमा अल कायदा नेता अयमान अलजविहिरीलाई सफलतापूर्वक मार्ने अमेरिकी सैन्य हमलाको प्रशंसा गरेकी छिन् ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा अमेरिकी सैन्य मिसन समाप्त गर्दा अमेरिकीहरूलाई आतंकवादी खतराहरूबाट जोगाउने क्षमता कायम राख्ने वाचा गरेको तथा अल कायदाका नेता अयमान अल जवाहिरी मारिएसँगै आफूहरुले त्यो प्रतिबद्धता पूरा गरिरहेको स्पष्ट भएको उपराष्ट्रपति ह्यारिसले बताएकी छिन् ।

राष्ट्रपतिको निर्णायक कारबाहीले यस आतंकवादी नेतालाई युद्धको मैदानबाट बाहिर निकालेको उनले बताइन् । अमेरिकी जनता र विश्व अब सुरक्षित रहेको बताउँदै उनले राष्ट्रपति बाइडेनले भनेजस्तै आफूहरुलाई हानि गर्न खोज्ने सबैलाई फेला पार्ने र न्याय दिने उनले चेतावनी दिइन् ।

सिनेट खुफिया समितिलाई जानकारी

सिनेट खुफिया समितिका नेताहरु फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियो र भर्जिनियाका डेमोक्र्याट सिनेटर मार्क वार्नरलाई आतंकवाद विरोधी अभियानको खबरको बारेमा जानकारी दिइएको थियो ।

त्यस्तै अमेरिकी संसदको विदेश मामिला समितिका सदस्य सांसद एडम किन्जिङ्गरले अलकायदाका नेता आयमान अल जवाहिरी मारिएको घटनालाई अमेरिकाको ठूलो नैतिक विजय बताएका छन् । तर अमेरिकाले आतंकवादी समुहमाथि नजर लगाएर चनाखो भइरहनुभपर्ने उनको भनाई छ ।

साउदी अरेबियाको स्वागत

साउदी अरेबियाले अल कायदा नेता अयमान अल जवाहिरीको हत्यामा राष्ट्रपति बाइडेनको घोषणाको स्वागत गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

साउदी विदेश मन्त्रालयले अल जवाहिरी अमेरिका र साउदी अरबमा आतंकवादी गतिविध गर्ने आतंकवादी नेताहरूमध्ये एक भएको वक्तब्यमा जनाएको छ । अल जवाहिरीले बनाएका आतंकवादी कारबाहीको योजनामा साउदी लगायत हजारौं निर्दोष मानिसहरू मारिएको वक्तव्यमा उल्लेख छ ।

तालिवानबाट आक्रमणको निन्दा

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलको एक आवासीय घरमा अमेरिकाले हवाई आक्रमण गरेको बताएका छन् । घटनाको प्रकृति सुरुमा स्पष्ट नभएको तर इस्लामिक इमिरेट्सको सुरक्षा र गुप्तचर सेवाहरूले घटनाको अनुसन्धान गरेपछि प्रारम्भिक निष्कर्षहरूले हमला अमेरिकी ड्रोनद्वारा गरिएको निष्कर्ष निकालिएको उनले बताएका छन् ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले कुनै पनि बहानामा यो आक्रमणको कडा निन्दा गर्ने मुजाहिदले बताएका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय सिद्धान्त र दोहा सम्झौताको स्पष्ट उल्लङ्घन भनेका छन् । उनले ‘यस्ता कार्यहरू विगत २० वर्षका असफल अनुभवहरूको पुनरावृत्ति रहेको र अमेरिका, अफगानिस्तान र यस क्षेत्रको हितविरुद्ध रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com