१० बर्षपछि अमेरिकामा भेटियो पोलियो, संक्रमित न्युयोर्क निवासी


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

झण्डै १ दशकपछि अमेरिकामा पोलियोका बिरामी भेटिएका छन् । अत्यन्तै संक्रामक रोगका रुपमा रहेको पोलियो संक्रमित व्यक्ति न्युयोर्क निवासी रहेको जनाइएको छ ।

मांशपेशी कमजोर हुने, पक्षघात हुने र मृत्यु समेत हुने यो रोग रकल्याण्ड काउन्टीमा बस्ने व्यक्तिमा देखिएको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । अमेरिकामा पछिल्लो पोलियो संक्रमण सन् २०१३ मा पुष्टी भएको थियो ।

न्युयोर्कको डिपार्टमेन्ट अफ हेल्थ र रकल्याण्ड काउन्टी डिपार्टमेन्ट अफ हेल्थले स्वास्थ्यकर्मीहरुलाई अरु मामलाहरु रहे नहरेको बारे हेर्न प्रेरित गरेका छन् । स्वास्थ्य अधिकारीहरुले पोलियोको खोप नलगाएकाहरुलाई लगाउन र जोखिममा रहेकाहरुलाई बुस्टर लगाउन सुझाव दिएका छन् । रकल्याण्ड काउन्टीले आगामी दिनमा भ्याक्सिन क्लीनिकहरु राख्ने भएको छ ।

रकल्याण्ड काउन्टीका बासिन्दासँग भएको पोलियोको प्रकार मुखबाट पोलियो खोपको थोपा लिने व्यक्तिबाट सरेको श्रृङ्खलाको सङ्केत रहेको जनाइएको छ । मुखबाट खोप अमेरिकामा सन् २००० पछि प्रयोग गरिएको छैन । जसका कारण यो भाइरस अमेरिका बाहिर कतैबाट उत्पन्न भएको आशंका गरिएको छ ।

खोपको विकासपछि सन् १९५० र १९६० को दशकमा पोलियोका केसहरू ह्वात्तै घटेका थिए। पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दुई सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ।

पोलियो रोग पोलियो नामक भाईरसबाट हुने सरुवा रोग हो । यो रोग लागेमा बच्चा लुलो लंगडो हुनुका साथै कहिले काँहि यसले मृत्यु समेत गराउँदछ । पोलियो रोग लाग्ने भाइरस तीन किसिमका हुन्छन् ।

पोलियो रोगीको दिसामा रहने पोलियो रोगको भाइरस खाना र पानीको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ । पानी अथवा खानामा परेको यो भाइरस पोलियो खोप नपाएका बच्चाहरूले प्रयोग गरेमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । खाना र पानीको माध्यमबाट छिरेका भाइरस आन्द्रामा गई संख्यात्मक रूपमा बृद्धि हुन्छन् र रगतको माध्यमबाट केहि निश्चित स्नायु कोषमा आक्रमण गरी नष्ट पार्दछन् । त्यस्तै स्वासप्रस्वास र मुखबाट मुखमा र्यालमार्फत पनि पोलियो सर्नसक्छ ।

वातावरणीय सरसफाइ नभएका स्थान र छिमेकमा यो रोग चाँडै सर्दछ । यदि कुनै एक घरको कुनै एक बच्चालाई पोलियो रोग पाइएमा घरका बाँकी बच्चामा पनि पोलियोको संक्रमण हुन सक्दछ । रोगको लक्षण शुरु हुन १० दिन अगाडि देखि र पहिलो लक्षण देखिएको १० दिन पछिसम्म यो रोग अरूलाई सर्ने संभावना धेरै हुन्छ । यो रोगले एकैपटक धेरै मानिसहरूमा संक्रमण गरेतापनि प्रायः संक्रमित व्यक्तिहरूमा पोलियो रोगका लक्षणहरू देखा पर्दैनन् तर संक्रमित व्यक्तिले अरूलाई रोगका विषाणु सार्ने सम्भावना बढी हुन्छ । पोलियो रोगको बिषाणु शरीरमा प्रवेश गरिसके पछि यसको लक्षण देखिन लगभग ६ देखि २० दिन सम्म लाग्दछ ।

black and silver stethoscope on brown wooden table

पोलियोका भाइरसबाट संक्रमित बच्चा प्रायः सामान्य देखिन्छन र रोगको कुनै पनि लक्षण देखिदैन । ५ प्रतिशत भन्दा कम बच्चाहरूलाई भने रुघाखोकी, ज्वरो आउने, पातलो दिसा लाग्ने, टाउको दुख्ने र पेटदुख्ने जस्ता लक्षणहरू देखिन्छन् । प्रायजसो बालबालिकाहरूमा एक पटक पोलियोको विषाणु शरिरमा प्रवेश गरिसकेपछि पोलियो बिरुद्ध लड्ने क्षमता विकास हुन्छ र उक्त व्यक्ति जीवनभर पोलियो रोगबाट बच्न सक्दछ ।

अपाङ्ग गराउने पोलियो रोगका लक्षणहरुमा ज्वरो आउने र अन्य सामान्य प्रकृर्तिका लक्षण देखिन्छन् । प्रथम लक्षण शुरुभएको पहिलो हप्ताभित्रै मांशपेशी दुख्ने र लुलोलंगडो हुने लक्षणहरू देखापर्दछन् ।

अपाङ्गपन एउटा अथवा दुवै हात वा खुट्टामा हुन सक्दछ । श्वासप्रश्वास प्रणालीमा भागलिने मांशपेशीहरूको पक्षाघातको कारणले केहि विरामीमा श्वास प्रश्वासमा कठिनाइ उत्पन्न हुन्छ । पोलियो रोगबाट भएको अपाङ्गपन अत्यन्त थोरै हदसम्म मात्र सुध्रिन्छ र यस्तो सुध्रिने स्थिति व्यक्ति व्यक्तिमा फरक हुन्छ । प्रयोगशालामा गरिने दिसाको परिक्षणबाट पोलियो रोगको निश्चित रूपले निदान गरिन्छ ।

यदि पोलियो रोगले श्वास प्रश्वासको प्रणालीमा भागलिने मांशपेशीमा असर गर्यो भने श्वासप्रश्वास प्रक्रियामा कठिनाई उत्पन्न भई बिरामीको मृत्यु हुनसक्छ । एकपटक पोलियो रोगले आक्रमणगरी पक्षाघात भएका विरामीहरू जीवनभर अपाङ्ग हुन्छन् ।

पोलियो रोगका अन्य लक्षणको बिरुद्ध उपचार भए पनि अपाङ्गपनको कुनै उपचार छैन । श्वासप्रश्वास लिन कठिनाइ भएको स्थितिमा अस्पतालमा भर्नागरी भेन्टिलेटर को प्रयोगले ज्यान बचाउन सकिन्छ । नियमित शारीरिक कसरत, हाडजोर्नी सम्बन्धी उपचार, शल्यक्रिया, बैशाखी र अन्य उपकरणहरूको प्रयोगबाट पोलियो रोगबाट हुने दीर्घकालीन लुलोलंगडोपनलाई घटाउन सहयोग गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com