चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने


प्रकाशित मिति : श्रावण ४, २०७९ बुधबार

चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सन् २०२४ बाट सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्नेछ ।

यसैबीच   युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा गरिसक्ने लक्ष लिइएको छ । यी दुई गठबन्धन मुलुकबीच आर्थिक र ऊर्जा सम्बन्ध गहिरिँदै गइरहेको छ ।

मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेने लुभासान्नाम्सराइले फाइनान्सियल टाइम्सलाई बताएका छन्, “युक्रेनमा भइरहेको रुसी फौजको आक्रमणका कारण पावर अफ साइवेरिया पाइपलाइनको योजनामा केहि कठिनाइ आइरहे पनि यसको निर्माण कार्य २०२४ मै सुरु गरिनुपर्छ ।

दुईहजार ६०० किलोमिटर लामो यो पाइपलाइनले सन् २०३० मा सेवा आरम्भ गर्ने आशा गरिएको छ । यस पाइपलाइनमार्फत पारवहन शुल्क र कर पाइने हुँदा कोरोना भाइरस महामारीको कारण नाजुक अवस्थामा पुगेको मंगोलियाको अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुग्ने भएको छ ।

रुसबाट चीनमा ग्यास निर्यात गराउनेबारे सन् २०१९ देखि नै प्रसंग उठेको थियो । तर युरोपले आफ्नो ग्यास माथिको निर्भरता कम गर्न थालेपछि अहिले रुस यस विषयमा तातिएको हो । ईयूले आगामी २०२७ मा अजरवैजानबाट कम्तीमा २० अर्ब क्युविक मिटर प्राकृतिक ग्याँस आयात गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com