श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन आज, तीन जनाको उम्मेदवारी


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुँदैछ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गरिएको छ ।  यसैबीच विपक्षी उम्मेदवार सजित प्रेमदासले अल्हपेरुमाको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् ।  अल्हपेरुमा एक कट्टर सिंहली बौद्ध राष्ट्रवादी र सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीका सदस्य हुन .

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

ठूलो आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com