बाइडेनसँग ६२ प्रतिशत अमेरिकन असन्तुष्ट रहेको सीएनएन सर्वेक्षण, स्वीकृति दर ३८ प्रतिशत


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वीकृति दर जम्मा ३८ प्रतिशत रहेको छ भने ६२ प्रतिशतले उनले राष्ट्रपतिका रुपमा गरेका काम अस्वीकृत गरेका छन् । एसएसआरएसबाट संचालन गरिएको सीएनएन सर्वेक्षणमा बाइडेनको स्वीकृति दर अत्यन्तै खराब रहेको र अधिकांश अमेरिकनहरु बाइडेनले राष्ट्रपतिका रुपमा गरेका कामप्रति असन्तुष्ट रहेको देखिएको छ ।

सर्वेक्षणले देशको अवस्थालाई लिएर जनताको दृष्टिकोण सन् २००९ पछि सबैभन्दा खराब भएको फेला पारेको छ । १० मध्ये लगभग ७ जनाले राष्ट्रपति जो बाइडेनले मुलुकका सबैभन्दा ठूला समस्याहरुप्रति ध्यान नदिएको बताएका छन्।

बाइडेनको स्वीकृतिदर अर्थव्यवस्था संचालनमा जम्मा ३० प्रतिशत, मुद्रास्फीतिका सन्दर्भमा २५ प्रतिशत रहेको छ । बढ्दो लागत अधिकांश अमेरिकीहरूको लागि प्राथमिक आर्थिक दबाब रहेको छ । ७५ प्रतिशत अमेरिकनले जीवन यापनका लागि लागेको खर्च र मुद्रास्फीति उनीहरुले सामना गरिरहेको सबैभन्दा ठूलो आर्थिक समस्या रहेको बताएका छन् । गतबर्ष यो संख्या ४३ प्रतिशत रहेको थियो।

मध्यावधि चुनाव नजिकिँदै गर्दा जनताको बाइडेनप्रतिको धारणामा कुनै सुधार भएको देखिएको छैन । बरु बिग्रँदै गइरहेको छ। डेमोक्र्याटहरूबीच बाइडेनको स्वीकृति दर केही राम्रो देखिएपनि स्वतन्त्र र रिपब्लिकनहरुबीच भने निकै खराब रहेको छ ।

अर्थतन्त्रको परिचालनका सन्दर्भमा डेमोक्र्याट्सहरुबीच पनि बाइडेनको स्वीकृति दर ६२ प्रतिशत रहेको छ, जुन यस अगाडि ७१ प्रतिशत थियो । मुद्रास्फीतिका सन्दर्भमा बाइडेनको नीतिको ५१ प्रतिशत डेमोक्र्याट्सले स्वीकृत गरेका छन् भने ४९ प्रतिशतले अस्वीकृत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com