बेलायतमा मङ्गलबार १०२.४ डिग्री फरेनहाइट तापक्रम रेकर्ड


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो । ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ।

फ्रान्स र स्पेनमा जङ्गलमा लागेको आगो, पोर्चुगलमा खडेरी बढ्दै गएको र बेलायतमा सोमबार इतिहासकै तेस्रो सबैभन्दा तातो दिनको रेकर्ड कायम भइरहदा प्रचण्ड गर्मीले पश्चिमी युरोपका केही भागलाई लपेटेको छ ।

दक्षिणपश्चिम फ्रान्सको गिरोन्डेमा २७ हजार एकड क्षेत्रफलमा फैलिएको आगोले ३२ हजार मानिसलाई विस्थापित गराएको छ । नजिकैको शहर काजाउक्समा सोमबार १०८ दशमलव ३ डिग्री फरेनहाइट तापक्रम रेकर्ड गरिएको छ, जुन सन् १९२१ देखि मापन सुरु गरेयताकै सबैभन्दा धेरै हो ।

पश्चिमी फ्रान्सका प्रमुख शहरहरू नान्टेस र ब्रेस्टमा पनि तापमान बृद्धिको नयाँ रेकर्ड कायम भएको छ । फिनिस्टेरमा पहिलो पटक सोमबार दिउँसो आगलागी भएको जनाइएको थियो तर आठ घण्टा भन्दा कम समयमा आगो ७ सय एकड भन्दा बढी क्षेत्रमा फैलिएको थियो ।

स्पेनमा जङ्गलमा लागेको डढेलोले क्यास्टिल र लियोनको मध्य क्षेत्र, साथै ग्यालिसियाको उत्तरी क्षेत्र सखाप पारेको छ । आगोले म्याड्रिड र ग्यालिसिया बीचको रेल सेवा बन्द भएको छ ।

स्पेनमा यस वर्ष आगलागीका कारण ७० हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट भएको छ । स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

पोर्चुगलमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ६५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेहरु अधिकांश बढी उमेर समुहका व्यक्तिहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com