प्रचण्ड गर्मीबाट स्पेनमा ५१० र पोर्चुगलमा ६५९ जनाको मृत्यु, तापक्रम पुग्यो ४५ डिग्री सेल्सियस


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अकिांशमा ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् ।

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।

पोर्चुगलमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ६५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेहरु अधिकांश बढी उमेर समुहका व्यक्तिहरु रहेका छन् ।

प्रचण्ड गर्मीको चपेटामा पश्चिम युरोप

फ्रान्स र स्पेनमा जङ्गलमा लागेको आगो, पोर्चुगलमा खडेरी बढ्दै गएको र बेलायतमा सोमबार इतिहासकै तेस्रो सबैभन्दा तातो दिनको रेकर्ड कायम भइरहदा प्रचण्ड गर्मीले पश्चिमी युरोपका केही भागलाई लपेटेको छ ।

दक्षिणपश्चिम फ्रान्सको गिरोन्डेमा २७ हजार एकड क्षेत्रफलमा फैलिएको आगोले ३२ हजार मानिसलाई विस्थापित गराएको छ । नजिकैको शहर काजाउक्समा सोमबार १०८ दशमलव ३ डिग्री फरेनहाइट तापक्रम रेकर्ड गरिएको छ, जुन सन् १९२१ देखि मापन सुरु गरेयताकै सबैभन्दा धेरै हो ।

पश्चिमी फ्रान्सका प्रमुख शहरहरू नान्टेस र ब्रेस्टमा पनि तापमान बृद्धिको नयाँ रेकर्ड कायम भएको छ । फिनिस्टेरमा पहिलो पटक सोमबार दिउँसो आगलागी भएको जनाइएको थियो तर आठ घण्टा भन्दा कम समयमा आगो ७ सय एकड भन्दा बढी क्षेत्रमा फैलिएको थियो ।

स्पेनमा जङ्गलमा लागेको डढेलोले क्यास्टिल र लियोनको मध्य क्षेत्र, साथै ग्यालिसियाको उत्तरी क्षेत्र सखाप पारेको छ । आगोले म्याड्रिड र ग्यालिसिया बीचको रेल सेवा बन्द भएको छ ।

स्पेनमा यस वर्ष आगलागीका कारण ७० हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट भएको छ ।

फोटोमा स्पेनको म्याड्रिडमा अत्याधिक गर्मीका बीच लोटरी किन्न उभिएका सर्वसाधारणहरु र उत्तरी स्पेनको लारेडोमा समुन्द्री किनारामा सर्वसाधारणहरु । एपी इमेज ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com