न्युयोर्कका पार्क र समुन्द्री तटमा धुमपान प्रतिबन्ध, नियम नमाने ५० डलर जरिवाना


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

न्युयोर्क राज्यका राज्यबाट संचालित पार्कहरु र समुन्द्री तटहरुमा धुमपान प्रतिबन्ध लगाइएको छ । न्युयोर्क सिटीका समुन्द्री तट र पार्कहरुमा लामो समयदेखि नै धुमपान र धुँवाजन्य नशालु पदार्थ सेवन गर्नमा रोक लगाइएकोमा गभर्नर क्याथी होचुलले राज्यबाट संचालित पार्कमा समेत प्रतिबन्ध लगाउने नियममा हस्ताक्षर गरेकी हुन् ।

अब राज्यको स्वामित्वमा रहेका समुन्द्री तटहरु, बोर्डवाकहरु, मरिनाहरु, खेल मैदानहरु, मनोरञ्जन केन्द्रहरु र सामुहिक शिविरहरुमा धुमपान प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रहरुमा धुमपान गरेको खण्डमा ५० डलर जरिवाना गरिने भएको छ । यो नियम जुलाई १५ मा हस्ताक्षर गरेको मितिले ९० दिनभित्र कार्यान्वयन हुनेछ ।

धुमपान खतरनाक बानी रहेको तथा यसले धुमपान गर्नेहरुलाई मात्र होइन राज्यका सार्वजनिक स्थलहरुमा रमाइरहका बालबालिका र परिवारका सदस्यहरुसहित आसपासमा रहेकाहरुलाई पनि असर गर्ने गभर्नर होचुलले बताइन् । न्युयोर्कबासीको स्वास्थ्य संरक्षण र समुन्द्री किनारा, पार्क लगायतका सार्वजनिक स्थलमा फोहोर घटाउन मद्दत गर्ने कानूनमा हस्ताक्षर गर्न पाएकोमा आफूलाई गर्व लागेको उनले बताइन् ।

यो प्रतिबन्ध सूर्ती र गाँजाको हकमा लागु हुनेछ । पार्कसँग जोडिएका साइडवाक र पार्किङ लटहरुमा भने छुट दिइनेछ भने पार्कको प्रयोजनका लागि प्रयोग नभएका क्षेत्रमा पनि छुट दिइनेछ । भेप र ई सिगरेटहरु पनि यो प्रतिबन्धमा समावेश गरिएको छैन । तर न्युयोर्क राज्यको पार्क प्रणालीले पहिले नै राज्यका पार्कहरुम भेपमा प्रतिबन्ध लगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com