न्युयोर्कमा गाँजाको खुद्रा व्यापारका लागि नियम पारित, लाइसेन्स अर्को महिना खुल्नसक्ने


प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

न्युयोर्कमा गाँजाको खुद्रा व्यापारका लागि नियम पारित गरिएको छ भने खुद्रा व्यापारीहरुका लागि लाइसेन्सको आवेदन अर्को महिना खुल्नसक्ने जनाइएको छ । राज्यका नियामक अधिकारीहरुले मनोरञ्जनको उद्देश्यका लागि गाँजाको खुद्रा ब्यापारका लागि पहिलो चरणको लाइसेन्स आवेदन खोल्नेगरी नियम स्वीकृत गरेका हुन् ।

यसबारे आएका ६ सय प्रतिकृयाहरुको अवलोकन गरेपछि नियामक निकाय अगाडि बढ्ने निर्णयमा पुगेको हो । विगतमा गाँजा सम्बन्धित अपराधमा अपराधी ठहर भएका र उनीहरुका परिवारका लागि पहिलो चरणको लाइसेन्समा प्राथमिकता दिइने भएको छ ।

आवदेकहरुसँग आफ्नै व्यवसाय संचालन गरेको विगतको अनुभव समेत हुनुपर्ने जनाइएको छ । नयाँ नियम अगस्त ३ देखि लागु हुने जनाइएको छ । आवेदन सुरु हुनुभन्दा कम्तीमा १४ दिन अगाडि जानकारी सार्वजनिक गरिने भएको छ ।

गाँजाको पहिलो चरणको खुद्रा पसलहरु न्युयोर्कमा यसबर्षको अन्तिमसम्म सुरु हुने र बाँकी २०२३ मा सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकामा कैयन राज्यमा गाँजालाई मनोरञ्जनका लागि समेत बैध बनाउने क्रम जारी रहँदा न्युयोर्कले पनि यो कदम चालेको हो ।

न्युयोर्कमा गाँजालाई बैधता दिने बिल गतबर्ष पारित भएको थियो । अमेरिकामा मनोरञ्जनका लागि गाँजालाई बैधता दिने न्युयोर्क १५ औं राज्य हो । वासिंटन डिसीमा पनि मनोरञ्जनका लागि गाँजा बैध रहेको छ ।

विगतमा गाँजालाई गैरकानूनी बनाउँदा गाँजा सम्बन्धित मामलामा कैयन व्यक्तिलाई अपराधीकरण गरिएको थियो । जसका कारण उनीहरुलाई समस्या भएको थियो । एउटा रिपोर्ट अनुशार न्युयोर्कमा २४ प्रतिशत श्वेत जनसंख्याले गाँजाको प्रयोग गर्छन् भने १४ प्रतिशत अश्वेत र १२ प्रतिशत ल्याटिनोले गाँजाको प्रयोग गर्छन् ।

न्युयोर्कमा २१ बर्षका माथिका व्यक्तिलाई न्युयोर्कमा मनोरञ्जनका लागि ३ आउन्स सम्म गाँजा किन्न र बोकेर हिड्नमा छुट दिइने छ । तर गाँजाको किनबेच भने लाइसेन्सप्राप्त वितरकबाट गर्नुपर्छ ।

मनोरञ्जनका लागि गाँजा सेवन गर्नेहरुले घरमा ६ वटा बोटसम्म गाँजा रोप्न पाउनेछन् । एउटा परिवारले १२ वटा बोटसम्म गाँजा रोप्न पाउनेछ । राज्यको कर गाँजामा ९ प्रतिशत लगाइनेछ । जस अनुशार बर्षमा राज्यलाई ३ सय ५० मिलियन आम्दानी हुने अनुमान गरिएको छ । जसबाट ६० हजार जागिर थपिने अनुमान गरिएको छ ।

न्युयोर्क सिटीमा भने राज्यको ९ प्रतिशत र स्थानीय ४ प्रतिशत गरी १३ प्रतिशत ट्याक्स लाग्नेछ । जसबाट न्युयोर्कमा मात्र बार्षिक १५० मिलियन भन्दा धेरै आम्दानी हुने अनुमान गरिएको छ ।

गाँजा सेवनका फाइदा

अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् ।

एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।

अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।

नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।

त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com