‘चीनले अफवाह फैलाएपछि नेपाल एसपीपीबाट पछाडि हट्यो’ : अमेरिकी सिनेटर


प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको अमेरिकी सिनेटरहरुले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा सिनेटको वैदेशिक सम्बन्ध समितिमा सिनेटरहरुले नेपाल एसपीपीबाट पछाडि हट्नुको कारण चीनको हौवा अभियान भएको बताए ।

सिनेटको इन्डियन अफेयर्स कमिटीका अध्यक्ष तथा सिनेटमा डेमोक्रेटिक चिफ डेपुटी ह्वीप समेत रहेका हवाईका सिनेटर ब्रायन शाट्सले चीनिया सरकारको हौवा अभियानपछि गत महिना नेपालको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिता रद्द गरेको बताए । प्रस्तावित राजदूतलाई नेपालको कुटनीतिक परिदृश्य बताउने क्रममा उनले यो विषय उल्लेख गरेका हुन् ।

रसियन हस्तक्षेपको निन्दा गर्नेमा नेपाल उक्त क्षेत्रका केही देशहरुमध्ये रहेको उल्लेख गर्दै शाट्सले यसैबर्षको सुरुमा आफ्नो देशमा अमेरिकाको प्रभावबारे चासो राखेका नेपालीहरुले विरोध प्रदर्शनका बाबुजत नेपालको संसदले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको सन्दर्भ पनि उल्लेख गरे ।

कोरी बुकर

त्यस्तै सिनेटर कोरी बुकरले चीनले अफवाहहरु फैलाएर अमेरिकासँगको नेपालको आर्थिक सम्बन्धलाई कमजोर पार्न खोजेपनि नेपालले अमेरिकासँगको सम्बन्ध पनि गहिरो बनाउन चाहेको उनले बताए । सिनेटर बुकरले नेपाललाई भारत र चीनबीचको सम्बन्धलाई सन्तुलनमा गाह्रो भइरहेको र चीनको प्रभाव नेपालमा उल्लेख्य रहेको बताए । न्युजर्सीका सिनेटर बुकरले हालै नेपालको भ्रमण समेत गरेका थिए ।

सुनुवाईमा आफ्नो बयान दिदै प्रस्तावित राजदूत टम्पसनले अमेरिका नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा रहेको तथा नेपाललाई ‘दुई ढुङ्गा बीचको तरुल भनिने उल्लेख गर्दै ती ढुङ्गाहरु चीन र भारत रहेको बताए । चीन र भारतसँगको नेपालको महत्वपूर्ण सम्बन्ध रहेको भएतापनि अमेरिको नेपालको सार्वभौमसत्ता र अमेरिकासँगको साझेदारीलाई सुदृढ गर्नमा नेपालको चासो राख्ने उनले बताए ।

डिन टम्पसन

अफवाह फैलाउने चीनको अभियानका बाबजुत नेपालले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको प्रसंग उल्लेख गर्दै उनले संयुक्त राष्ट्र संघको महासभा र संयुक्त राष्ट्र मानवअधिकार परिषदमा युक्रेनको प्रस्तावमा नेपालको समर्थनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र क्षेत्रीय अखण्डताको आधारमा नेपाल अगाडि बढ्न प्रतिवद्ध रहेको देखिएको बताए ।

‘स्टेट पार्टनरसीप प्रोग्राम’ अमेरिकी राज्यका नेशनल गार्ड र कुनै पनि दोस्रो मुलुकका सेनाबीच हुने राज्यस्तरीय साझेदारी सम्झौता हो। यस सम्झौताले सेनाको संस्थागत र प्राविधिक क्षमताको सबलीकरण तथा रक्षा र सुरक्षाजस्ता विषयमा साझेदारी गर्छ ।

अमेरिकी सरकारका अनुशार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिकविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दै आएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। अमेरिकी सरकारका अनुशार यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com