जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार
प्रकाशित मिति : असार २३, २०७९ बिहीबार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ । प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ। जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा अचेत छन् । एनएचके रिपोर्टका अनुसार उनलाई एम्बुलेन्समा ल्याउँदा उनी सचेत थिए।
शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानेको बताएको छ। सिन्जो आबेलाई घाइते अवस्थामा नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । एनएचकेको रिपोर्ट अनुसार गोली लागेपछि रगत बगेको थियो। गोली लागेपछि हृदयघात भएको पनि चर्चा छ ।
जापानी पत्रकार टोबियास ह्यारिसले शिन्जो आबेमाथि भएको आक्रमणको बारेमा धेरै ट्वीट गरेका छन्। उनले आफ्नो ट्विटमा भनेका छन् ,जसलाई जापानको चुनावी अभियान थाहा छ, उनीहरुलाई थाहा छ कि प्रचारका क्रममा नेता र मतदाताबीचको दूरी निकै कम हुन्छ । आबेको साथमा सुरक्षा अधिकारी रहने भए पनि सम्पूर्ण अभियानमा कडा सुरक्षा भने छैन ।
जापानका मुख्य क्याबिनेट सेक्रेटरीले भनेका छन्, ‘शिन्जो आबेलाई शुक्रबार स्थानीय समय अनुसार ११ः३० मा नारामा गोली हानी हानिएको थियो । अहिले उनको अवस्था कस्तो छ भन्ने खुलाइएको छैन ।
आबेले २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिए, तर सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि धेरै प्रभावशाली छन्। वाशिंगटन पोस्ट ब्यूरो प्रमुख मिशेल ये ही लीले ट्वीट गर्दै लेखेका छन् ‘शिन्जो आबे अझै पनि जापानमा धेरै लोकप्रिय छन्। जापानमा हिंसा अपवाद हो।,
Discover more from KHASOKHAS
Subscribe to get the latest posts sent to your email.









