प्रधानमन्त्री जोनसनले माफी मागे पनि किन दिए अर्थमन्त्री  र स्वास्थ्यमन्त्रीले राजीनामा ?


प्रकाशित मिति : असार २१, २०७९ मंगलबार

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले सरकारबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वमा आफूलाई अब विश्वास नभएको बताएका छन् । ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् । प्रधानमन्त्री बोरिसले माफी मागेको केही समयपछि दुवैको राजीनामा आएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनले सांसद क्रिस पिन्चरलाई आधिकारिक जिम्मेवारी दिएकोमा माफी मागेका छन् । बेलायतका शिक्षामन्त्री नदिम झावीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने साजिद जाविदको स्थानमा डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ स्टिभ बर्स्लीले जिम्मेवारी सम्हाल्ने छन् ।   यससँगै उच्च शिक्षामन्त्री मिशेल डोनेलनलाई बढुवा गरी शिक्षामन्त्री बनाइएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले यस वर्षको सुरुमा पिन्चरलाई डेपुटी ह्विप प्रमुखमा नियुक्त गरेर ठूलो गल्ती गरेको स्वीकार गरेका छन्। बोरिस जोनसनलाई पिन्चर विरुद्धको आरोपबारे थाहा थियो तर पनि उनले उनलाई नियुक्त गरेका थिए।

जोनसनले बीबीसीलाई दिएको अन्तर्वार्तामा गल्ती भएको बताएका छन् । जोनसनले आफ्नो निर्णयबाट प्रभावित हुनेहरुसँग माफी मागेका छन् । विपक्षीसँगै उनका आफ्नै सांसदले पनि बोरिस जोनसनको यो निर्णयको आलोचना गरिरहेका छन् ।

सुनक, जाविदसँगै कन्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलामीले पनि राजीनामा दिएका छन् । यसबाहेक एन्ड्रयु मोरिसनले ट्रेड एम्बेसडरबाट राजीनामा दिएका छन् । मन्त्रालयका सहकर्मी जोनाथन गुलिस र साकिब भाटीले पनि राजीनामा दिएका छन् । तर  विदेशमन्त्री लिज ट्रस, मन्त्री माइकल गोभ र अन्य क्याबिनेट मन्त्रीहरूले बोरिस जोनसनलाई समर्थन गरेका छन्।

संस्कृति मन्त्री नादिन डोरिजका अलावा, ब्रेक्जिट मन्त्री ज्याकब रीस-मोगलाई बोरिस जोनसनका वफादार मानिन्छ र उनले सार्वजनिक रूपमा प्रधानमन्त्रीलाई समर्थन गरेका छन्। दुई वरिष्ठ मन्त्रीको राजीनामाले जोनसनको नेतृत्वमा फेरि प्रश्न खडा गरेको छ। हालै उनले अविश्वासको प्रस्ताव जितेका थिए । अर्को वर्ष जुनसम्म, पार्टी नियम अनुसार, बोरिस जोनसनलाई कुनै चुनौती हुनेछैन।

बोरिस जोन्सन सरकारबाट यी राजीनामाका सम्बन्धमा लेबर पार्टीका विपक्षी नेता केयर स्टर्मरले देशमा सरकार परिवर्तन गर्नुपर्ने भएकाले निर्वाचन गर्नु पर्ने बताएका छन्। उनले भने, ‘यो कन्जरभेटिभ सरकार पतन हुँदैछ, उनको अनाड़ीपन र असफलताबाट स्पष्ट छ।’ अर्को चुनाव २०२४ मा छ तर बोरिस जोनसनले चाहेमा यो पहिले गर्न सकिन्छ।

लिबरल डेमोक्र्याटका नेता सर एड डेवीले यो सरकार नराम्ररी असफल भएको बताएका छन् । उनले बोरिस जोनसनलाई राजीनामा दिन आग्रह गरेका छन् । स्कटल्याण्डका प्रथम मन्त्री र SNP नेता निकोला स्टर्जनले बोरिस जोनसन अब छोड्नुपर्ने बताएका छन्। निकोलाले भने, ‘मन्त्री खुलेर झुट बोलिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com