कसरी संचालन हुन्छन् न्युयोर्क सिटीमा सडक किनाराका पसल


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

गत अप्रिल २९ मा न्युयोर्क सिटीको बु्रकलिनमा ट्रेन स्टेशनमा लाइसेन्स नलिइकनै फलफुल बेच्ने एकजना महिलालाई प्रहरीले हतकडी लगायो भने सामान जफत गरेको भिडियो भाइरल भयो । सडक पेटीमा मकै बेच्नेका सामान नगरी प्रहरीले नियन्त्रणमा लिएको यस्तै घटना काठमाडौंमा समेत भएको छ । कसरी संचालन हुन्छन् न्युयोर्क सिटीमा सडक किनाराका पसल ?

अप्रिल २९ मा न्युयोर्क सिटीको बु्रकलिनमा ट्रेन स्टेशनमा लाइसेन्स नलिइकनै फलफुल बेच्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको भिडियो भाइरल भयो । उनले दशकभन्दा लामो समयदेखि ट्रेन स्टेशनमा फलफूल बेच्दै आएकी थिइन् । उनले दिनको ८० डलरजति कमाउने गर्थिन् । अधिकारकर्मीहरुले ट्रेन स्टेशनमा लाइसेन्स नलिइकनै फलफुल बेच्ने महिलालाई हतकडी लगाउनु र सामान जफत गर्नु निर्दयी र अनावश्यक भएको टिप्पणी गरे ।

न्युयोर्क सिटीका कम आम्दानी भएका व्यक्तिलाई आर्थिक अवशर प्रदान गर्नुपर्ने भन्दै विभिन्न टिकाटिप्पणीहरु भए । न्युयोर्कमा यस्ता घटनाहरु बारम्बार हुने गर्छन् । न्युयोर्क सिटीका मेयरले पछिल्लो घटनामा पक्राउलाई समर्थन गरेका छन् तर उनले प्रहरीको बस्तुस्थीतिको मूल्यांकन गर्नुपर्ने समेत बताएका छन् । अप्रिल २९ को घटनालाई कैयन पत्रकार र अधिकारकर्मीहरुले सन् २०१९ को घटनासँग तुलना गरेका छन्, जहाँ एकजना महिलाई ट्रेन स्टेशनमा खानेकुरा बेचेको कारण प्रहरीले हतकडी लगाएको थियो ।

न्युयोर्क सिटीमा बेलाबेलामा सडक र ट्रेन स्टेशनमा गैरकानूनी रुपमा खानेकुराहरु बेचेको भन्दै प्रहरीले हतकडी लगाउने गरेका भिडियोहरु आउने गर्छन् । यस्ता घटनाहरुमा प्रहरीको रवैयाप्रति सामाजिक सञ्जालमा चर्को विरोध पनि हुने गर्छ । तर न्युयोर्कमा सडक पेटीहरुमा वा ट्रेन स्टेशनमा लाइसेन्स नलिइकनै खानेकुरा लगायतका कुनै सामान बेचविखन गर्नु गैरकानूनी हो ।

न्युयोर्क सिटीमा सडक किनारामा राखिने आम पसलहरुका लागि स्थानीय सरकारको उपभोक्ता सम्बन्धि विभागले लाइसेन्स जारी गर्छ । तर खानेकुरा बेच्ने पसलहरुका सन्दर्भमा भने स्वास्थ्य विभागले लाइसेन्स जारी गर्छ । सडक किनारामा भाडाकुडा, गहना, धार्मिक बस्तुहरु, खेलौनाहरु, मोजा, टोपी, सीडी, भिडियो क्यासेट, घडी लगायतका सामान बेच्न लाइसेन्स आवश्यक हुन्छ । यदि विना लाइसेन्स कसैले बेचेको खण्डमा प्रहरीले उनीहरुको सामान जफत गर्नसक्छ ।

न्युयोर्क सिटीमा सडक किनारामा पसल राख्न लाइसेन्स लिनुपर्ने भएतापनि सिमित लाइसेन्समात्र जारी गरिने भएको त्यस्तो लाइसेन्स लिन अत्यन्तै मुस्किल रहेको छ । हजारौं व्यक्ति प्रतिक्षा सुचीमा रहेका कारण नयाँ लाइसेन्स लिन त लगभग असम्भव जस्तै नै रहेको छ । तर विगतमा अमेरिकी सेनामा काम गरेका र कानूनी रुपमा जागिर छाडेकाहरुले भने सहज रुपमा लाइसेन्स प्राप्त गर्न सक्छन् ।

यद्यपी न्युयोर्क सिटीमा पेन्टिङ, चित्रहरु, फोटोहरु, किताबहरु भ्ने विना लाइसेन्स पनि सडकपेटीमा बेच्न सकिन्छ । संविधानको पहिलो संसोधनले व्यवस्था गरेको वाक स्वतन्त्रता अन्तरगत यस्ता सामानहरु विना लाइसेन्स पनि बेच्न सकिन्छ । तर उनीहरुले पनि कुन कुन सडकमा सामान बेच्न पाइने, कुन कुनमा नपाइने भन्ने नियमको पालना गर्नुपर्छ । स्थानीय सरकारले कतिपय सडकपेटीमा कुनै पनि प्रकारका सामान बेच्नमा प्रतिबन्ध लगाएको छ ।

खाना, फलफुल, तरकारी लगायतका सामानहरु सडक किनारामा बेच्न पनि लाइसेन्सको आवश्यकता हुन्छ । त्यस्ता लाइसेन्सका फरक फरक नियमहरु र शर्तहरु हुने गर्छन् । खाना बेच्ने लाइसेन्स लिनुभन्दा अगाडि खानेकुराहरु कसरी परिचालन गर्ने भन्ने सन्दर्भमा १५ घण्टाको तालिम समेत लिनुपर्छ । चल्ती पसलहरु संचालन गर्नेले भने खाना बेच्ने हो भने ८ घण्टाको तालिम लिनुपर्छ ।

लाइसेन्स लिनका लागि सामान्यतया २ सय डलरमात्र लाग्ने भएतापनि लाइसेन्समा हुने कालाबजारीका कारण कतिपयले २० हजार डलरसम्म तिरेर पनि लाइसेन्स लिने गरेका घटना छन् । गतबर्ष पारित एउटा स्थानीय कानूनले आगामी दशबर्षसम्म बार्षिक थप ४ सय ४५ नयाँ अनुमतिपत्रहरु जारी गर्न सकिने प्रावधान ल्याएपछि नयाँ लाइसेन्स लिन चाहनेहरुलाई केही राहत भएको छ । यद्यपी न्युयोर्कमा गैरकानूनी रुपमा सडक किनारामा पसल राख्नेहरु भने महामारीपछि बढेका छन् ।

लाइसेन्स लिएर पनि सही तरिकाले पसल संचालन नगरी नियमहरु उल्लंघन गर्नेलाई जरिवानाको व्यवस्था रहेको छ भने विना लाइसेन्स सडक किनारामा पसल संचालन गर्नेहरुलाई १ हजार डलरसम्म जरिवाना हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com