युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी  २१ जनाको मृत्यु भएको छ ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त भएको छ । स्थानीय समय अनुसार शुक्रबार राती १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गर्नु भएको छ । कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उहाँको दावी छ ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ ।-एएनआई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com