अमेरिकामा सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिला केतन्जी ब्राउनको सपथ बिहिबार
प्रकाशित मिति : असार १५, २०७९ बुधबार
अमेरिकाको सर्वोच्च अदालतका उदार न्यायाधिस स्टेफन ब्रेयर बिहिबार दिउसो सेवानिवृत्त हुने भएका छन् भने उनको स्थानमा नयाँ इतिहास रच्दै केतन्जी ब्राउन ज्याक्सनको नियुक्ती हुने भएको छ । ८३ बर्षका ब्रेयरले आफू सेवानिवृत्त भए लगत्तै विहिबार नै न्यायाधिस ब्राउनको सपथग्रहणमा सघाउने भएका छन् ।
५१ बर्षकी केतन्जी ब्राउन ज्याक्सनले बिहिबार दिउसो अमेरिकी सर्वोच्च अदालतका १०४ औं न्यायाधिसका रुपमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रधान न्यायाधिस जोन रोबर्टसले सपथग्रहण गराउने जनाइएको छ ।
ब्रेयरले तत्कालिन राष्ट्रपति बिल क्लीन्टनबाट नियुक्त भएपछि सन् १९९४ देखि सेवा गर्दै आएका छन् । सर्वोच्चका ९ जना न्यायाधिसमध्ये ३ जना उदार न्यायाधिसहरु रहेकामा ब्रेयर तीनमध्येका एक हुन् । उनले गत जनवरीमा सेवानिवृत्त हुने बताएका थिए । लगत्तै राष्ट्रपति जो बाइडेनले उनको स्थानमा केतन्जी ब्राउनको नियुक्ती सिफारिस गरेका थिए ।
ब्राउन अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा नियुक्त हुने पहिलो अश्वेत महिला हुनेछिन् । उनको नियुक्ती गत अप्रिलमा सिनेटबाट ५३ मतका साथ सदर भएको थियो ।

सबै डेमोक्रेटिक सिनेटरहरु र तीनजना रिपब्लिकन सिनेटरहरुले केतन्जीको नियुक्तीका पक्षमा मतदान गरेका थिए । रिपब्लिकन सिनेटरहरु सुसन कोलिन्ज, मिट रोम्नी र लिसा मुर्कोस्कीले नियुक्तीका पक्षमा मतदान गरेका थिए ।
ज्याक्सन अमेरिकाको सर्वोच्च अदालतको २३३ बर्ष लामो इतिहासमा तेश्रो अफ्रिकन अमेरिकन हुनेछिन् भने पहिलो अश्वेत महिला हुनेछिन् । बाइडेनले गतबर्ष उनलाई वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतमा पदोन्नती गर्नु अगाडि उनले झण्डै ८ बर्ष वासिंटनकै अदालतमा ८ बर्ष न्यायाधिसका रुपमा काम गरेकी थिइन् ।
बिहिबारदेखि उनी सर्वोच्चमा उदारबादी न्यायाधिसका रुपमा अबका कैयन बर्ष रहनेछिन् । ज्याक्सनको नियुक्ती सर्वोच्चमा रहेको अहिलेको समिकरणमा भने फेरवदल हुने छैन । अहिले सर्वोच्चमा ६ जना रुढिवादी र ३ जना उदार न्यायाधिसहरु रहेका छन् । उदारवादी न्यायाधिस स्टेफन ब्रेयरकै स्थानमा उनलाई नियुक्त गरिने भएकाले पहिले कै समिकरण कायम रहनेछ ।

त्यस्तै उनको नियुक्तीपछि सर्वोच्चमा ५ जना पुरुष र ४ जना महिला न्यायाधिस हुनेछन् । यो पनि अमेरिकी इतिहासमा नयाँ रेकर्ड हो । सन् २००९ मा अमेरिकाको सर्वोच्च अदालतमा ८ जना पुरुष र एकजनामात्र महिला न्यायाधिस रहेका थिए । अहिले सोनिया सोटोमेयर, एलेना कागन र एमी कोने ब्यारेट सर्वोच्चका महिला न्यायाधिस हुन् ।








