राजु विदेसिँदा किन चिन्तित छन् भलिबल प्रेमी ?


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

– रामबहादुर थापा,
अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् ।

गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् ।

खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका हुन् । भलिबलमा चम्किएका विकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् । विक तिनै खेलाडी हुन् जसले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट बिच भलिबल खेलेका थिए । उनले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरु खेले । पछिल्लो दुई वर्षयता विक गलकोट भलिबल टिमका कप्तान थिए ।

उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिए । “हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,” केसीले भने, “क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुप¥यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताए । विकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको रु पाँच लाख राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो ।

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विकले नै गरेका थिए । उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले रु पाँच लाख ५५ हजार ५५५ हात पारेको थियो ।

त्यसअघि सङ्खुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विकले नै सम्हालेका थिए । “राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ,” प्रशिक्षक केसीले भने, “उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सधँै सम्मानयोग्य रहनेछन् ।”

विकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आम भलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ । विक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन् । ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ ।

फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, …देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’ लेखेका छन् । गोपाल केसीले लेखेका छन्, ‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक ।’

उक्त भिडियो पोष्टलाई ५३ हजार जनाले हेरेका छन् भने झन्डै तीन सय जनाले टिप्पणी र ७५ जनाले शेयर गरेका छन् । विकले आफ्नो र परिवारको भविष्य हेरेर विदेसिनु परेको बताए । “जोसजाँगर हुन्जेल भलिबलमा लागियो, अब परिवारका लागि पनि सोच्नुप¥यो,” उहाँले भन्नुभयो, “सधैँ खेलेर पनि नहुने, अरु पेसा, व्यवसायमा लाग्न पनि नसकिने अवस्था भएपछि मैले विदेसिनुको विकल्प देखिनँ ।” विक विवाहितसमेत हुन् । उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रुपमा भलिबल खेल्न सुरु गरेका थिए । जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गरे ।

“उनी न्यून आय भएको परिवारमा जन्मेका हुन्, बिहेवारी भएपछि घरको आर्थिक दायित्व पनि थपियो त्यसपछि विदेश जान बाध्य हुनुप¥यो,” श्रीसले भन्नुभयो, “क्रिकेट, फुटबलमा जस्तो भलिबलमा खेलाडीको व्यावसायिक सुरक्षा पनि छैन ।” उनले भलिबलमा करियर बनाएका धेरै नेपाली खेलाडीहरू विदेश पलायन भएको बताए । “कतिपय खेलाडी त इच्छा र रोजाइ भएर नै विदेश छिर्छन्, कोहीको भने बाध्यता हुन्छ”, श्रीसले भने, “लामो समर्पण र त्यागसहित भलिबलमै जीवन फालेका खेलाडीहरू पनि नेपालमा छन् ।”

सङ्घका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राखे । “विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उनले भने, “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com