बालेन र हर्क चुकेमा परिवर्तनको अर्को लहर आउन बर्षौ लाग्नसक्छ !


प्रकाशित मिति : असार १३, २०७९ सोमबार

– निशेष कार्की 

निष्पक्ष चुनावको अभ्यास प्रजातन्त्रको अभिन्न अंग हो। र चुनावमा संग्लनता जनाउनु जनताको अधिकार। चुनावले आशा, कौतुहलता र जनताको आवाज बोकेर आउछ। त्यसैले पनि चुनावताका देशको वातावरण उत्साहजनक हुने गर्छ। त्यस्तै भर्खर मात्र हाम्रो देशमा सकिएको स्थानीय चुनावको प्रक्रिया, उमेदवारहरु र चुनावी नतिजाले पुरा राष्ट्र तरंगित पार्यो। यसपटकका चुनावी उमेदवारहरु पहिलेका भन्दा फरक थिए, त्यसैले पनि उनीहरु समाचारको केन्द्रबिन्दुमा रहे। बर्षौ पार्टीको बफादार भयता पनि अन्त्यमा पार्टीले टिकट नदिदा स्वतन्त्र उमेदवारी दिनेहरुको लर्को लामै देखियो। भलै उनीहरुको उमेदवारी स्वतन्त्रबाट थियो तर उनीहरुको स्कूलिंग उही पुरानै राजनैतिक दलहरुको थियो।

काठमाडौ र धरानका उम्मेदवार बालेन र हर्कसँग कुनै राजनैतिक पृष्टभुमि थिएन। यस अर्थमा उनीहरु अधिकांश उमेदवार भन्दा पृथक थिए। अनेकौ विश्लेषण र अड्कलबाजी बीच उनीहरुको विजयले नेपाली राजनीतिमा नया आयाम थपियो । युवामाझ आशा र उर्जा दुवै पलाएको छ।

सांगीतिक माध्यमबाट उदायका बालेन जनमानसमा चिर परिचित छन्। परिवर्तनको मुद्धा उठाउदै हिड्ने हर्क धरानमा चिनिएको नाम हो। यो देशमा नचिनिएका बालेन र हर्कहरु प्रसस्त छन्। अपरिचित बालेन—हर्कहरु नेपालको दुरदराजमा शिक्षकको रुपमा काम गर्दै होलान्। संख्यात्मक बालेन र हर्कहरु अरबको तातो मरुभूमिलाई आफ्नो पसिनाले चिसाउदै होलान। कैयन बालेन र हर्कहरु अस्ट्रेलियाको रेस्टुरेण्टमा बिदेशी परिकार पस्कदै होलान्। धेरै बालेन र हर्कहरु अमेरिकाको पेट्रोल पम्पमा तेल बेच्दै होलान्। असंख्य बालेन र हर्कहरु विदेशिने क्रममा राहदानी बनाउने प्रक्रियाको लाइनमा होलान्।

यी नेपथ्यका बालेन र हर्कहरु भलै राजनीतिमा रुचि नराख्लान् तर आफ्नो क्षमता अनुसार देश बिकाशमा टेवा पुर्याउने क्षमता अवश्य राख्छन्। यी गुमनाम बालेन र हर्कहरु भलै एकै क्षेत्रका नहोलान् तर उनीहरु उदेश्य एकै राख्छन्, देशलाई समृद्धिको बाटो तिर डोराउने। यी तमाम गुमनाम बालेन र हर्कहरुलाइ खोजेर अवसर र हौसला प्रदान गर्ने जिम्मेवारी हामी सर्बसाधारणमा आएको छ।

बालेन र हर्कको चुनावी जीत दलहरुप्रति जनताको निराशा हो। बर्षौ देखि आफ्नो मनोमानी गर्दै आएका नेताहरुलाई खबरदारी हो। राजनीतिको नाममा अथाह सम्पति कुम्लाउने भ्रष्टहरुलाई चुनौति हो। जनता परिवर्तनको पक्षमा छन् भन्ने संकेत हो। पुरानो मानसिकता परित्याग गरेर प्रगतिशील मार्ग तर्फ़ समाजको पहिलो कदम हो। र यो विजयको सबै भन्दा ठुलो शिक्षा कुनै पनि रास्ट्रको बलियो पक्ष दल हैन जनता हुन् र जनतासँग जस्तो सुकै व्यवस्था फेर्न सक्ने शक्ति हुन्छ भन्ने पुष्टि हो।

अबको मार्ग बालेन र हर्कको निम्ति सहज पक्कै हुने छैन। जनताले बिश्वास गरेर प्रदान गरेको जिम्मेबारी र दायीत्व उनीहरुले इमान्दारिताका साथ बहन गर्नु पर्ने छ। योजनाहरुमा पारदर्शिता हुनु पर्ने छ। चनावी विजयलाई आफ्नो व्यक्तिगत विजय नठानेर यसलाई जनताको विजय ठान्नु पर्नेछ। पद र मानसम्मान संगै दम्भ, अहंकार र घमण्ड पलाउनु हुदैन। रेल, पानीजहाज र अन्तरिक्ष यानका ठुला ठुला कुरा नेपाली जनताले मनग्गै सुनी सकेका छन्। ठुला ठुला भाषण र आश्वाशन हैन जनताको दैनिकी जीवनमा असर गर्ने सानासाना कुराहरुलाइ कार्यान्वयन गर्नुपर्छ।

बालेन र हर्क राष्ट्रको नयाँ राजनैतिक परिवर्तनको संघार हो। उनीहरु चुके भने यो परिवर्तनको लहर आउन फेरी बर्षौ कुर्नु पर्ने हुन्छ। जनताले प्रदान गरेको यस अवसर र भरोसा प्रति उनीहरु गम्भीर र बफादार हुनुपर्ने हुन्छ। एउटा सिंगो पुस्ता अवसर र आशाको प्रतिक्षामा बसेको छ। त्यो पुस्ताको निम्ति पनि बालेन र हर्क कर्तब्यनिष्ठ हुनुपर्ने छ। हरेक पाइला पाइलामा सिक्दै र सुधार गर्दै लिएर जानुपर्ने छ।

जति जिम्मेवारी बालेन र हर्कको काँधमा आइलागेको छ, त्यती नै जिम्मेवारी आम जनतामा पनि थपिएको छ। कार्यभार सम्हाल्ने वित्तिकै राता रात परिवर्तको अपेक्षा जनताले गर्नु हुदैन। यो एक प्रक्रिया हो र जनतामा धैर्यता र संयमता आवश्यक छ। सामाजिक संजालमा गैर जिम्मेवार टिका टिप्पणी गरेर उनीहरुको मनोबल गिराइदिनु हुदैन। उनीहरुको कदमलाई नजिकबाट नियालेर आवश्यक परे उचित सल्लाह र सुझाब भद्र र सभ्य ढंगमा दिनु पर्छ।

कुनै पनि राष्ट्र बिकाशको निम्ति एक पुस्ताको त्याग, तपस्या र समर्पणको खाँचो हुन्छ। मेरो देशको यो नयाँ पुस्ता विकाशको भोको छ। विदेशमा श्रम बेच्नुको कष्ट र हिनताबोधको अनुभब बोकेको छ। त्यसैले नयाँ पुस्ता आफ्नो देशमै फर्केर परिश्रम गर्न लालायित छ। नयाँ पुस्ता अध्ययनशील छ। निस्वार्थ छ। लगनशील छ। सिर्जनशील छ। विश्व बजारलाई नजिकबाट नियालेको छ। समाज परिवर्तनको निम्ति सशस्त्र क्रान्ति हैन आर्थिक क्रान्तिको खाँचो छ भन्ने नयाँ पुस्ताले राम्ररी बुझेको छ। तर यसको अर्थ यो होइन कि नयाँ पुस्ता अघिल्लो पुस्तालाई बेवास्ता गर्न चाहन्छ। नयाँ पुस्ता अघिल्लो पुस्ताको अनुभव, उचित सल्लाह, सुझावको कदर गर्दै सहकार्यको निम्ति तयार छ। मेरो देशको नयाँ पुस्ताले परिवर्तनको पहिलो पाइला टेकी सकेको छ।

निशेष कार्की 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com