दशकौंपछि अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण सम्बन्धि संघीय कानून पारित


प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार

अमेरिकी सिनेटबाट दशकौंपछि पहिलोपटक बन्दुक नियन्त्रण सम्बन्धि संघीय कानून पारित भएको छ । सिनेटले बन्दुक हिंसालाई सम्बोधन गर्न बिहीबार राती दुइदलीय बिल पारित गरेको हो ।

एकसय सिटमध्ये पचास पचासमा विभाजित सिनेटमा अन्तिम मतदान हुँदा बन्दुक नियन्त्रण बिलका पक्षमा ६५ र विपक्षमा ३३ मत खसेको थियो । १५ रिपब्लिकन सांसदहरुले साथ दिएपछि यो बिल पारित हुन सफल भएको हो ।

यो सँगै देशको सबैभन्दा विवादास्पद मुद्दा मध्येको एकमा महत्त्वपूर्ण दुईदलीय सफलता मिलेको छ । यो बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित गराउन आवश्यक छ । प्रतिनिधिसभामा डेमोक्र्याटसहरुको बहुमत रहेकाले बिल पारित गराउन सहज छ ।

यो बिलमा मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, संकट हस्तक्षेप कार्यक्रमहरू र पराधिक पृष्ठभूमि जाँच लगायतका लागि करोडौं डलर समावेश छ। बिलमा १८ बर्षदेखि २१ बर्षका व्यक्तिले बन्दुक किन्ने प्रक्रियामा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ । यो विषयमा लामो समयदेखि वकालत गर्दै आएका डेमोक्र्याटहरूका लागि यसलाई विजयका रुपमा लिइएको छ ।

यो बिल सन् १९९४ मा बन्दुक हिंशालाई सम्बोधन गर्न आक्रमणकारी बन्दुकमा प्रतिबन्ध लगाउन ल्याइएको तर १० बर्षे म्याद गुज्रिसकेको बिलपछिको महत्वपूर्ण बिल हो । तर सन् १९९४ को उक्त बिलले कुनै पनि हतियारमाथि प्रतिबन्ध लगाउन असफल भएको थियो ।

बिलमा राज्यहरूलाई संकटकालिन हस्तक्षेप कार्यक्रमहरू लागू गर्न र सञ्चालन गर्न मद्दत गर्न ७५० मिलियन डलर समावेश छ। जसले संकटमा रहेका व्यक्तिहरूलाई अदालतको आदेश मार्फत बन्दुकमा पहुँच कायम गर्नबाट अस्थायी रोक लगाउन सक्छ ।

यो बिलले घरेलु हिंसा कानूनमा रहेको वर्षौं पुरानो छिद्रलाई बन्द गरेको छ । पूरानो व्यवस्थामा विवाहित लगायतका बच्चाहरु साझेदार गरेर एकसाथ बस्नेहरुलाई घरेलु हिंशाको अपराधमा दोषी ठहरिएमा बन्दुक किन्न प्रतिबन्ध लगाइएपनि सँगै नबसेका, विवाहित वा छोराछोरी साझा नगरेका प्रेमी प्रेमिकाहरुलाई समावेश गरेको थिएन । तर अब विवाह नगरेका वा संगै नबसेका प्रेमी प्रेमिकाहरु पनि घरेलु हिंशामा दोषी ठहर भएमा बन्दुक राख्न निषेध गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com