भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार


प्रकाशित मिति : असार ९, २०७९ बिहीबार

दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।

भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँचसयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ ।

भूकम्पले भत्काएका भग्नावशेषमा मानिसहरूको खोजी भइरहेको छ । बाँचेकाहरू घरायसी उपकरण लिएर खोजी तथा उद्धारमा जुटेका छन् । उनीहरू हातले भग्नावेशष हटाइरहेका छन् । तालिबान र उनीहरूको नियन्त्रणबाट भागेका अन्तर्राष्ट्रिय समुदाय भूकम्प पीडितहरूलाई सघाउन सङ्घर्ष गरिरहेका छन् ।

बढ्दो गरिबी र भोकमरीका बीच थपिएको यो विपत्तिमा अफगानीहरू अन्तर्राष्ट्रिय समुदायको मुख ताकेर बसेका छन् भने बाह्य सहायता पनि मन्द गतिमा प्राप्त हुन थालेको छ । छिमेकी पाकिस्तानबाट केही राहत सामग्री प्राप्त भएको छ ।

दश महिनाअघि उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी सेना फिर्ता भएसँगै देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । तालिबान शासन शुरू भएयता अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएको छ । भूकम्प पीडितहरूले अन्तर्राष्ट्रिय मानवीय सहायताका निम्ति आह्वान गरेका छन् । उनीहरूले भग्नावशेष हातले पन्छाएर पुरिएकाहरूलाई जीवितै उद्धार गर्न कठिन हुने पीडादायी परिस्थितिबारे जानकारी पनि गराएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com