अमेरिकामा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

अमेरिकामा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । अमेरिकामा बयस्कलाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको झण्डै १८ महिनापछि ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई भ्याक्सिन दिन सुरु गरिएको हो ।

यो उमेर समुहका बालबालिकाहरुलाई भ्याक्सिनका दुईदेखि तीन डोज दिइने भएको छ । फाइजर भ्याक्सिन ६ महिनादेखि ४ बर्षसम्मका बालबालिकाहरुलाई ३ डोज दिइनेछ भने मोडेर्ना भ्याक्सिन ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई २ डोज दिइनेछ । मंगलबारदेखि नै अमेरिकामा ५ बर्षभन्दा कम उमेरकाहरुलाई भ्याक्सिन दिन सुरु गरिएको हो ।

राष्ट्रपति बाइडेनले मंगलबार दिउसो ह्वाइट हाउसमा बोल्दै पछिल्लो विकाशक्रमबाट अमेरिकामा १९ मिलियन बालबालिकाहरु प्रभावित भएको बताएका थिए । ६ महिनाभन्दा माथिका बालबालिकाहरुलाई भ्याक्सिन लगाउन सुरु गर्ने अमेरिका विश्वमा नै पहिलो देश हो ।

न्युयोर्कमा भने ६ महिनामाथिहरुलाई भ्याक्सिन वितरणमा एकदिन ढिलो भएको छ । राज्यको स्वास्थ्य विभागबाट अन्तिम स्वीकृति आउन ढिलो भएकाले न्युयोर्कमा बुधबारदेखिमात्र भ्याक्सिन लगाउन सुरु गरिएको छ । कतिपय फार्मेसीहरुले भने ३ बर्षभन्दा माथिका बालबालिकालाईमात्र भ्याक्सिन दिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com