सन्दर्भ विश्व शरणार्थी दिवस : १० हजार नाघे अमेरिकामा शरण लिने नेपाली, ३६४० नेपालीका मुद्दा अदालतमा पेन्डिङ


प्रकाशित मिति : असार ७, २०७९ मंगलबार

जुन २० अर्थात् विश्व शरणार्थी दिवस। संयुक्त राष्ट्रको एक प्रतिवेदनले गत वर्ष १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गरेको छ। यसै क्रममा कैयन नेपालीहरुले पनि विभिन्न देशमा गएर शरण लिने गरेका छन् ।

अहिलेसम्म अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या १० हजार नाघेको छ । यसमा उनीहरुका परिवारका सदस्यहरुको संख्या भने समावेश छैन ।

आर्थिक बर्ष सन् २०२२ को अहिलेसम्म ३०९ जना र सन् २०२१ मा १६६ जना नेपालीहरुको एसाइलम अदालतबाट स्वीकृत भएको छ । २०२० मा अमेरिकामा अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ३२२ जना रहेका छन् ।  २०१९ मा अमेरिकाको अदालतबाट ६२७ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक रहेको छ ।

सन् २०१० देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा अदालतबाट सबैभन्दा धेरै नेपालीको एसाइलम आर्थिक बर्ष २०१९ मा स्वीकृत भएको छ । सन् २०१८ मा ४६९, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २८२, सन् २०१३ मा ३८५, सन् २०१२ मा ३७९, सन् २०११ मा ३१० र सन् २०१० मा २१७ जना नेपालीको एसाइलम अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ ।

अहिलेसम्म अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५ हजार ४ सय ४९ जना रहेका छन् । सन् २००१ देखि २०२० सम्ममात्र ४ हजार ९ सय ७६ नेपालीहरुको एसाएलम अदालतबाट स्वीकृत भएको छ ।

सन् २००१ मा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ३१ रहेको थियो । अमेरिका आएर एसाइलम आवेदन दिनेहरुमध्ये अधिकांशले माओवादीका कारण नेपालमा बस्न असुरक्षित भएको र फर्केर गएमा ज्यानको जोखिम हुने कारण पेश गरेका छन् । कतिपयले जातीय वा धार्मिक कारणले नेपालमा बस्न खतरा रहेको र फर्केर गएमा ज्यानको जोखिम रहेको कारण पेश गरेका छन् ।

अदालतबाट एसाइलम पाउनेहरु मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका र विभिन्न भिसामा अमेरिका आएर एसाइलम दावी गर्दा युएससीआईएसबाट एसाइलम स्वीकृत नभई अदालतमा पठाइएकाहरु हुन् । एसाइलम आवेदन दिएर अदालतबाट अस्वीकृत हुने नेपालीहरु अहिलेसम्म २०३३ रहेका छन् ।

सन् २००१ यता अदालतले नेपालीहरुका ७ हजार ५ सय ६१ केस फैसला गरेको छ ।

अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या उल्लेख्य रहेपनि पछिल्ला बर्षमा युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या भने निकै कम रहेको छ । आर्थिक बर्ष सन् २०२० मा यो संख्या १६ जनामात्र रहेको छ । आर्थिक बर्ष २०१९ मा जम्मा ३६ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो ।

विगत १० बर्षमा झण्डै ३ हजार नेपालीको एसाइलम युएससीआईएसबाट नै स्वीकृत भइसकेको छ । जस अन्तरगत सन् २०१० मा ४०८, सन् २०११ मा ४१५, सन् २०१२ मा ५८०, सन् २०१३ मा ४७४, सन् २०१४ मा २६३, सन् २०१५ मा ३५५, सन् २०१६ मा २३५, सन् २०१७ मा १४७ र सन् २०१८ मा ९१ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो ।

सन् २०१० अगाडि युएससीआइएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या झण्डै २ हजार रहेको थियो । सन् २००० देखि सन् २००९ सम्म १९८४ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाटै स्वीकृत भएको थियो । जस अन्तरगत सन् २००० मा १८, सन् २००१ मा २१, सन् २००२ मा ६९, सन् २००३ मा १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८, सन् २००६ मा २११, सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको छ ।

३६४० जना नेपालीहरुको एसाइलमका मुद्दाहरु अदालतमा पेन्डिङ रहेका छन् भने युएससीआईएसमा विगत ५ बर्षदेखि नै पेन्डिङ रहेका नेपालीहरुको आवेदनको संख्या पनि उल्लेख्य छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com