दरबार हाइस्कुलको भव्य भवनमा अध्ययन, तर विद्यार्थीको सिकाइस्तर कमजोर


प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार

– पूर्णप्रसाद मिश्र/

भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ ।

“गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन”, उहाँले भन्नुभयो । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहनुभएकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उहाँका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिकसत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्नुहुन्छ । “परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् ।

अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो । सङ्घीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका बेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

काठमाडौँ महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय एकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष हुनुभएको हो । विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरियताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउनुहुन्छ । निमित्त दिएको लामो सयमसम्म पनि उहाँलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निर्णय नहुँदा केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो ।

बटाला शिक्षक नियुक्त भएर आउँदा २०७० सालमा करिब ७० मात्र विद्यार्थी थिए । त्यसबेला औँलामा गन्न सकिने विद्यार्थीमात्र उत्तीर्ण हुने गरेको उहाँको स्मरणमा अझै ताजा छ । त्यसबेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उहाँको तर्क छ ।

करिब ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थीमात्र अटाउँछन् । अर्को सेक्सन बनाउनसमेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपरेको अध्यक्ष महर्जनले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भएलगत्तै विद्यालयको कमजोर गुणस्तरका बारेमा धेरै गुनासा आएको बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उहाँले सुनाउनुभयो ।

“विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आफैँ केही गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मैले कानुनी पक्षको अध्ययन गरिरहेको छु, वडाले केही गर्न नसक्ने अवस्था भएमा महानगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरेर सुधारका कामको थालनी गछौँ”, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com