चर्चित पप गायिका ब्रिटनीले गरिन् तेस्रो विवाह, पूर्व पति विवाहस्थलमा पक्राउ


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

चर्चित अमेरिकी पप गायिका ब्रिटनी स्पियर्सले लामो समयदेखिका प्रेमी स्याम असघारीसँग विवाह गरेकी छन् । स्याम ब्रिट्नीभन्दा १२ वर्षले कान्छा छन् । क्यालिफोर्नियामा भएको विवाहमा दुई पक्षका केही परिचित मित्र र आफन्तलाई मात्र बोलाइएको थियो ।

दुई जनाबीच सन् २०१६ मा एक म्युजिक भिडियोको सेटमा पहिलोपटक भेट भएको थियो । स्पियर्सले गत वर्ष उनका पितासँग कानुनी लडाइ जित्नुभन्दा केहीअघि सेप्टेम्बरमा इङगेजमेन्ट गरेकी थिइन् । गतवर्ष नोभेम्बर उनले पिताविरुद्ध मुद्दा जित्दै १३ वर्ष देखिको कठोर संरक्षकत्वबाट मुक्त भएकी थिइन् । यो अवधिमा उनको सम्पूर्ण निर्णय पिताले नै गर्ने भएकाले उनी पिताको बन्धनमा रहेको विश्वास आम फ्यानमाझ छ ।

सन् १९८१ मा मिसिसिपीको म्याककम्बमा जन्मिएकी ब्रिट्नीले तीन वर्षको उमेरदेखि नै नृत्य सिक्न थालेकी थिइन् । पाँच वर्षको उमेरमा, उनले आफ्नो पहिलो स्टेज प्रदर्शन दिएकी ब्रिट्नीको सन् १९९९ मा पहिलो एल्बम ‘बेबी वन मोर टाइम’ रिलिज भएको थियो, जुन निक्कै हिट भयो । त्यसपछि उनका एकपछि अर्को गीत हिट भए ।

उनलाई ‘प्रिन्सेस अफ पप’ को उपमा दिइन्छ ।

ब्रिटनी स्पियर्सका पूर्व पति जेसन अलेजेण्डरलाई दक्षिणी क्यालिफोर्नियाको विवाहस्थलमा जबरजस्ती प्रवेश गर्दै गर्दा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार बिहीबार दिउँसो २ बजेपछि नबोलाइकन विवाहस्थलमा प्रवेश गरेको भन्दै फोन आएपछि अलेक्ज्याण्डरलाई समारोहस्थलै पक्रिएको थियो ।

अलेक्ज्याण्डरमाथि अर्को काउन्टीमा गिरफ्तारीको वारेन्ट रहेको थाहा पाएपछि अधिकारीले उनलाई हिरासतमै राखेका थिए । बिहीबार अलेक्जेन्डरले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट गरेको लाइभ एक सजाइएको घर र बगैंचा जस्तो देखिने वरिपरि हिंड्दै गरेको देखिन्छ । सुरक्षागार्डले रोक्ने प्रयास गर्दा उनले आफूलाई स्पियर्सले निम्तो दिएको बताएका छन् ।

सन् २००४ मा आफ्नो बाल्यकालको साथी– स्पियर्ससँग छोटो समयका लागि विवाहित रहेका अलेक्ज्याण्डरले लाइभस्ट्रिममा भन्छन्, ‘उनी मेरी पहिलो पत्नी हुन्, मेरी एक मात्र पत्नी । त्यसैले म उनको विवाहमा जबर्जस्ती घुस्दै छु ।’

दुईबीचको विवाह ५५ घण्टा मात्र टिकेको थियो । जेसनपछि स्पियर्सले नर्तक केभिन फेडरलाइनसँग दुई वर्षका लागि विवाह गरेकी थिइन्, जसबाट ब्रिट्नीको १४ र १५ वर्षका दुई छोराहरू जन्मिएका छन् ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com