मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट प्रभावितहरुका यस्ता छन् माग


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको कटानबाट प्रभावित स्थानीयवासीले मुआब्जा माग गरेका छन् । आयोजनाको ड्यामले कटानको जोखिममा पर्दै गएका स्थानीयवासीले आयोजनासँग मुआब्जा माग गरेका हुन् ।

आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले जोखिममा परेका ठाउँका जग्गा अधिग्रहण गरी क्षतिपूर्ति दिन माग गरेका छन् । स्थानीवासीले मस्र्याङ्दी जल उत्पन्न प्रकोप नियन्त्रण कार्य सम्पादन समिति गठन गरी केही दिनदेखि आन्दोलन गरिरहेका छन् । स्थानीयवासीले आज पनि आयोजनाको कार्यालयमा धर्ना दिएको समितिका संयोजक विष्णु पराजुलीले जानकारी दिनुभयो ।

आँबुखैरेनी–२ मा रहेको जलविद्युत् आयोजनाले निर्माण गरेको जलाशयगृह आसपास रहेका स्थानीय जग्गाधनीको घडेरी बर्सेनि कटान हुने क्रम जारी रहेकाले उक्त जग्गाका उचित मूल्य निर्धारण गरी मुआब्जा रकम उपलब्ध गराउन माग गरिएको पराजुलीले बताउनुभयो । “बर्सेनि पर्ने अविरल वर्षाका कारण अनियन्त्रित तवरबाट पानीको बहाव बढ्न गई घरहरू असुरक्षित भइरहेको, स्थानीयवासीले जीवनमरणको दोसाँधमा जिउन बाध्य छौँ”, उहाँले भन्नुभयो, “भविष्यमा मानवीय क्षतिसमेत बेहोर्नुपर्ने सम्भावनालाई मध्यनजर गरी उक्त जग्गाको उचित क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो माग हो ।”

यसअघि पनि पटक–पटक सङ्घर्ष समितिबाट सम्बन्धित निकायमा निवेदन दिँदा पनि कुनै किसिमको पहलकदमी नभएको पराजुलीले बताउनुभयो । “हाम्रो माग पूरा नभए कार्यालयबाट निर्माण गरिने कुनै पनि किसिमको तटबन्धनसम्बन्धी कार्य र जलविद्युत् गृहबाट उत्पादन हुने विद्युत् उत्पादन कार्य रोक्का गर्छौँ”, उहाँले भन्नुभयो, । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले यहाँका १४ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासीले उक्त मागको बारेमा आँबुखैरेनी गाउँपालिका, जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सवारी साधनको दर्ता अब तनहुँबाटै

तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयले जिल्लाबाटै सवारी साधन दर्ता कार्य सुरु गर्ने भएको छ । पोखराबाट मात्र हुँदै आएको सवारी साधन दर्ताको काम अब तनहुँबाट पनि सुरु हुन लागेको हो । तनहुँबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ ।

कार्यालय प्रमुख विष्णु केसीले केही दिनभित्रै सवारी साधन दर्ताको काम सुरु हुने जानकारी दिनुभयो । “अहिले बिलबुक मात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले अब केहीदिनमै सवारी साधनको दर्ता सुरु गर्ने तयारी गरेको छ”, केसीले भन्नुभयो, “अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको कामसमेत सुरु हुन्छ ।”

कार्यालयले सम्भव भएसम्म असार पहिलो हप्ताबाट सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको कामसमेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।

यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । कार्यालयले बिलबुक नवीकरणको काम भने सुरुदेखि नै गर्दै आएको छ । कार्यालयले विमलनगर–४ मा एक घर पाँच वर्षका लागि भाडामा लिनका लागि सम्झौता गरिसकेको छ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ । अहिले सवारी साधन दर्ता, सवारी चालक अनुमति नवीकरणलगायत कामका लागि पोखरासम्म जानुपर्ने अवस्था छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com