न्युयोर्कको उडसाइडमा नेपाली रेष्टुरेण्ट परिसरमा गोली चलाउनेको पहिचान, २८ बर्षीय तेन्जिङ


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

प्रहरीले न्युयोर्कको उडसाइडमा दिनदहाडै गोली चलाउनेको पहिचान गरेको छ । गोली चलाउने २ जनामध्ये एकजना २८ बर्षीय तेन्जिङ नोग्र्याल रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउसो ३ बजेर २० मिनेट जाँदा उडसाइडको ६५ स्ट्रीट ब्रोडवेमा गोली हानाहान भएको थियो ।

तेन्जिङको पिठ्युमा गोली लागेको थियो । त्यसपछि उपचारका लागि एल्मस्र्ट अस्पतालमा लगिएको थियो । तेन्जिङको अवस्था स्थीर रहेको जनाइएको छ भने प्रहरीले पक्राउ गरेर हत्याको प्रयास गरेको अभियोग लगाएको छ ।

घटनास्थल । फोटो : गुगल म्याप

प्रहरीले सार्वजनिक गरेको भिडियोमा तेन्जिङले एउटा हातमा चुरोट समातेर अर्को हातले गोली चलाएको देख्न सकिन्छ । नेपालीबाट संचालित रेष्टुरेण्ट उडसाइड क्याफेको बाहिरपट्टीको डाइनिङ क्षेत्रमा आड लागेर गोली चलाएको जनाइएको छ ।

गोली चलाउने अर्को व्यक्ति भने फरार रहेको जनाइएको छ । तेन्जिङ टीएनटी गिरोहको व्यक्ति रहेको र यसभन्दा अगाडि पनि ६ पटक पक्राउ परिसकेको जनाइएको छ । तर यो घटना भने गिरोह सम्बन्धित नरहेको देखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com