३० बर्षदेखिका न्युयोर्क राज्य सांसद काहिललाई सराहना श्रेष्ठको चुनौति, श्रेष्ठसँग १७ हजार डलर बढी फण्ड


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

न्युयोर्क राज्यको संसदको तल्लो सदनका लागि हुने १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको प्राइमरी चुनाव रोचक बन्दै गएको छ । झण्डै ३० बर्षदेखि न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका र ४० बर्षभन्दा लामोसमयदेखि राजनीतिमा सकृय ६६ बर्षका डेमोक्रेटिक उम्मेदबार केभिन काहिललाई ४१ बर्षकी सराहना श्रेष्ठको चुनौति थाम्न मुस्किल भइरहेको छ ।

आगामी जुन २८ मा हुने प्राइमरीमा काहिल र श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ भने प्राइमरीबाट विजेता हुने उम्मेदबार आगामी नोभेम्बरमा हुने अन्तिम चुनावमा न्युयोर्क राज्य संसदको तल्लो सदनका लागि प्रतिस्पर्धा गर्नेछन् । यद्यपी प्राइमरी चुनावमा जितेका डेमोक्रेटिक उम्मेदबारले नोभेम्बरमा हुने चुनाव जित्ने लगभग निश्चित रहनेछ । जुन २८ को प्राइमरीका लागि जुन १८ बाट अग्रिम मतदान सुरु हुनेछ ।

प्राइमरी चुनाव आउन झण्डै तीनसाता बाँकी रहँदा श्रेष्ठसँग काहिलको तुलनामा झण्डै १७ हजार डलर बढी फण्ड रहेको देखिएको छ । यद्यपी सराहना श्रेष्ठको तुलनामा काहिलले चुनावमा धेरै रकम उठाउने र खर्च गर्ने गरेको देखिएको छ । पछिल्लो फाइलिङ अनुशार काहिलसँग ५२ हजार ६ सय ३१ डलर बाँकी फण्ड देखिएको छ भने श्रेष्ठसँग ६९ हजार ३ सय ७७ डलर रहेको छ । जुन काहिलसँग भएको फण्डको तुलनामा १६ हजार ७ सय ४६ डलर बढी हो ।

अहिले आफ्नो १५ औं कार्यकाल सम्हालिरहेका काहिलले चुनावी अभियान सुरु गर्दा उनीसँग ३७ हजार ७ सय ५३ डलर रहेको थियो भने उनले १ लाख १६ हजार १ सय ९६ डलर फण्डरेज गरेका छन् । जसमध्ये मे २७ सम्म उनले १ लाख १ हजार ३ सय १९ डलर खर्च गरिसकेका छन् । पछिल्लो फाइलिङ अनुशार श्रेष्ठले चुनावी अभियान सुरु गर्दा उनीसँग ५३ हजार ७ सय ४४ डलर थियो भने उनले ७४ हजार ५ सय ४३ डलर फण्डरेज गरेकी थिइन् । उनले ५८ हजार ९ सय १० डलर खर्च गरिसकेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काहिलले २७ जनाबाट सिधा व्यक्तिगत डोनेशन प्राप्त गरेका छन् भने श्रेष्ठले १९०८ जनाबाट सिधा व्यक्तिगत डोनेशन प्राप्त गरेकी छिन् । काहिलले एक्टब्लुमार्फत प्राप्त गरेको व्यक्तिगत डोनेशन रिपोर्टमा समावेश छैन । श्रेष्ठले ३४३ जना बु्रकलिन निवासीहरुबाट डोनेशन प्राप्त गरेकी छिन् । आफ्नो चुनावी क्षेत्रबाट पनि डोनेशन प्राप्त गरेकी उनले न्युयोर्क राज्यबाहिरबाट समेत डोनेशन प्राप्त गरेकी छिन् ।

श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदबारीको घोषणा गर्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनले यो निर्वाचन जितेको खण्डमा अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने  नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उम्मेदबारीको घोषणा गरेकी हुन् । श्रेष्ठलाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेको थियो ।

श्रेष्ठले गतबर्ष नै  चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका थिए ।

उनको उम्मेदबारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरिसकेकी छिन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनको उम्मेदबारीको समर्थन गरेकी छिन् ।

श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवद्र्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत हुन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ बर्षको हुने गर्छ । सन् २०२० को डेमोक्रेटिक प्राइमरी रद्द गरिएको थियो भने चुनावमा केभिन काहिलले ५१ हजार २ सय ३४ मत ल्याएर विजय भएका थिए ।

केभिनले डिस्ट्रिक्ट १०३ बाट सन् २०१२ देखिका चुनावमा लगातार जित्दै आएका छन् । त्योभन्दा अगाडि उनले डिस्ट्रिक्ट १०१ बाट सन् १९९८ देखि २०१० सम्म जित्दै आएका थिए । त्योभन्दा अगाडि उनले सन् १९९२ बाट पनि उक्त क्षेत्रबाट न्युयोर्क राज्य संसदको तल्लो सदनमा चुनाव जितेका थिए ।

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ ग्राफिक डिजाइनरका रुपमा काम गर्दा गर्दै नेपालमा लोकतन्त्रका पक्षमा समेत वकालत गरेकी थिइन् । उनले संचालन गरेको अनलाइन साहित्य जर्नलमा प्रकाशित राजनीतिक लेखका कारण तत्कालिन राजतन्त्रले उनको अनलाइनमाथि नेपालमा प्रतिबन्ध समेत लगाएको थियो । श्रेष्ठले सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com