अमेरिकाले आयोजना गरेको पश्चिमी गोलार्धका मुलुकहरुको शिखर सम्मेलन मेक्सिकोका राष्ट्रपतिद्वारा बहिष्कार
प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार
संयुक्त राज्य अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जेलस सहरमा पश्चिमी गोलार्धका मुलुकहरुको शिखर सम्मेलन आयोजना गरिरहेको छ । विभिन्न मुलुकका राज्य प्रमुख सम्मेलन स्थल पुगिरहेका छन् । तर मेक्सिकोको राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओबे्रडोरले सम्मेलन बहिष्कार गर्ने बताएका छन् ।
अमेरिकाले निकारागुवा, क्युबा र भेनेजुयलालाई सम्मेलनमा निमन्त्रणा नगरेको विरोधमा ओब्रेडोरले सम्मेलन बहिष्कार गर्न लागेका हुन् । अमेरिकाले ती तीन मुलुकले मानव अधिकार तथा प्रजातान्त्रिक शासनको सम्मान नगर्ने भएकाले सम्मेलनमा नबाइएको बताएको छ ।
नियमित पत्रकार सम्मेलनमा मेक्सिकन राष्ट्रपति ओब्रेडोरले लस एन्सल्जको कार्यक्रममा उनको स्थानमा विदेश मन्त्री मार्सेलो इब्रार्ड सहभागी हुनेछन् । ‘दुई अमेरिकी महादेशका सम्पूर्ण मुलुक सहभागी नभईकन यसलाई कसरी ‘समिट अफ द अमेरिकाज’ भन्न मिल्छ ,’ ओब्रेडोरले भने ।
ओब्रेडोरले यसअघि पनि विचार नमिल्ने मुलुकलाई निमन्त्रणा नदिएर यसलाई ‘संयुक्त राज्य अमेरिकाको मित्रहरुको सम्मेलन’ नबनाउन आग्रह गरेका थिए । ओब्रेडोरको कदमले अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारको प्रयासमा धक्काका रुपमा हेरिएको छ ।
अमेरिकाले सन् १९९४ पछि पहिलो पटक आयोजना गर्न लागेका ‘समिट अफ द अमेरिकाज’ गर्दैछ । यसमार्फत उसले पश्चिमी गोलार्दमा आफ्नो नेतृत्वलाई थप सबल बनाउने लक्ष लिएको छ । ओब्रेडोरबाहेक चिल्लीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि अमेरिकी निर्णयलाई ‘गल्ती’ को संज्ञा दिएका छन् ।
यसअघि सन् २०१८ मा पेरुमा आयोजित सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए । त्यस वर्ष सो क्षेत्रका ३५ मध्ये १७ राज्य प्रमुखले मात्र सम्मेलनमा भाग लिएका थिए । आलोचकहरुले विचार नमिलेकै आधारमा मुलुकहरुलाई वहिष्कार गर्दा सो क्षेत्रमा कायम खाद्य असुरक्षा, महङ्गीजस्ता वृहत्तर मुद्दाहरु सम्बोधन गर्न कठिन हुने बताउँछन् ।-एजेन्सी






