बर्दिया घटना : प्रहरीको गोली प्रहारबाट नवीना चौधरी मृत्यु, गृहमन्त्री भन्नुहुन्छ,’गोली चलाउने आदेश नै छैन’


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो घटनाका सम्बन्धमा जवाफ दिँदै सो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रलालयका उपसचिव ध्रुव खड्का हुनुहुन्छ । छानबिन समितिले दिएको प्रतिवेदनअनुसार घटनामा संलग्न दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको प्रस्ट पार्नुभयो । “त्यहाँ कुन अवस्थामा कसरी गोली चल्यो, आदेश कसले दियो भन्ने बारेमा सत्यतथ्य जानकारी आएपछि दोषीउपर कारबाही हुनेछ,” उहाँले भन्नुभयो ।

घटनास्थलमा अहिले सर्वदलीय बैठक बसेको र स्थितिलाई सामान्य बनाउने प्रक्रिया अगाडि बढेको गृहमन्त्रीको भनाइ छ । घाइतेको उपचारको प्रबन्ध सरकारले गरेको भन्दै वन्यजन्तुबाट आमनागरिक प्रताडित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको गृहमन्त्री खाणले बताउनुभयो । “निकुञ्ज क्षेत्रमा तारबार लगाउने, त्यसका लागि सम्बन्धित मन्त्रालयले तत्काल बजेट व्यवस्थापन गर्नेछ”, उहाँले भन्नुभयो, “स्थानीय उपभोक्ता समिति, वन समिति र स्थानीय तहसँग समन्वय गरेर तत्काल तारबार गरिनेछ ।”

गृहमन्त्री खाणले सो घटनालाई नियन्त्रणमा लिन प्रहरीलाई गोली प्रहार गर्ने आदेश नदिइएको जानकारी दिनुभयो । “नागरिकको आक्रोश, अवरोध र भीडमा गोली चलाउने आदेश छैन, सम्झाई, बुझाई गरी सर्वदलीय बैठकमार्फत समस्यालाई समाधान गर्ने, कमभन्दा कम शक्तिको प्रयोग गरी विवाद समाधान गर्ने सरकारको उद्देश्य छ”, गृहमन्त्री खाणले भन्नुभयो, “गोली चलाउने त आदेश नै छैन, बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि गोली चलाउने आदेश नदिएको धारणा राख्नुभएको, तर त्यहाँ गोली चलेको छ, यस घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले आजै बिहान छानबिन समिति गठन गरेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बर्दियाको मधुवन नगरपालिका–२ सोनाय गाउँका ४१ का सुरेन्द्र थारूलाई सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाले उहाँको कम्मर, दाहिने हात र तिघ्रामा चिथोरेको गृहमन्त्रीले जानकारी गराउनुभयो । कोठियाघाट प्रहरी चौकीबाट खटिएको प्रहरीले घाइते थारूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगेको पनि गृहमन्त्री खाणले जानकारी दिनुभयो ।

सोही दिन अपराह्न १ बजे मधुवन नगरपालिका–३ स्थिति ओराली बजारमा चितुवाको आक्रमणले घाइते बनाएको विषयलाई लिएर स्थानीय सामुदयिक वन समितिका पदाधिकारी तथा स्थानीय नागरिकले बाघ र चितुवाको आक्रमणलाई नियन्त्रण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने, जनजीवन सुरक्षाको माग राखेर हुलाकी सडक अवरुद्ध भएको गृहमन्त्री खाणले जानकारी गराउनुभयो ।

सुरक्षाकर्मीले सुम्झाई बुझाई अवरुद्ध राजमार्ग खुलाउने क्रममा स्थानीय उत्तेजित भई भीडले ढुङ्गामुढा गरेको जानकारी दिँदै उहाँले भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले केही थान अश्रु ग्यास र गोली प्रहार गरेको बताउनुभयो । गोली प्रहारबाट स्थानीय नवीना चौधरीको निधन भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै गृहमन्त्री खाणले यौनजन्य हिंसाका घटनामा संलग्नमाथि हदैसम्मको कारबाही हुने बताउनुभएको छ । बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना ज्यादै दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उहाँले बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । खजुराको धनौजीको प्रहरी चौकीले घटनामा संलग्नलाई सात युवालाई पक्राउ गरेको उहाँले सदनलाई जानकारी गराउनुभयो । स्थानीय प्रशासनको सहयोगमा पीडित किशोरीको उपचार भइरहेको जानकारी दिँदै उहाँले अहिले किशोरीलाई गैरसरकारी संस्था साथीको संरक्षणमा राखिएको बताउनुभयो ।

गृहमन्त्री खाणले समूहिक बलात्कार तथा यौन हिंसाले प्रश्रय नपाओस् भनी घटनामा संलग्नलाई हदैसम्मको कारबाही गरिने विश्वास दिलाउनुभयो । “यौन हिंसालाई दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवनयापनका लागि वातावरण तयार गर्नुपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रावधानलाई संशोधन र परिमार्जन गर्नुपर्ने आवाजसँग सहमत छु,” उहाँले भन्नुभयो ।

यौनहिंसा र यसबाट बाँच्ने, बचाउने र त्यस्ता हिंसा गर्नेलाई हुने सजायसम्बन्धी जानकारी दिने विषय विद्यालयस्तरको पाठ्यक्रममा राख्न आफूले पहल गर्ने गृहमन्त्रीले बताउनुभयो । बाँकेका राप्तीसोनारी निवासी १६ वर्षकी किशोरीमाथि बाँकेकै वैजनाथ बस्ने हेमराज थारूले आफ्नो जन्मदिनको कार्यक्रममा आमन्त्रण गरी अन्य ६ जना साथीहरुसँग फूलबारी भन्ने स्थानमा लगेर सामूहिक बलात्कार गरेको गृहमन्त्रीले सदनलाई जानकारी गराउनुभयो ।

गृहमन्त्रीको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको सुुरुमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सांसदहरुले विभिन्न घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको थियो । समय मागेर बोल्दै सांसद विमला विकले बर्दियामा राष्ट्रिय निकुञ्जको वन्यजन्तुको आतङ्क बढेको भन्दै उहाँले जङ्गली जनावरबाट हुने मानवीय तथा भौतिक क्षति रोक्न माग गर्नुभयो । सोमबार मात्र बर्दियाको मधुवन नगरपालिका–२ सोनाय गाउँका ४१ का सुरेन्द्र थारूलाई सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

सोही घटनालाई लिएर स्थानीय सामुदायिक वन समितिका पदाधिकारी तथा स्थानीय नागरिकले बाघ र चितुवाको आक्रमणलाई नियन्त्रण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने, जनजीवन सुरक्षाको माग राख्दै अवरुद्ध हुलाकी सडक खुलाउने क्रममा प्रहरीले स्थानीयमाथि गोली प्रहार गरेको भन्दै सांसद विकले घटनाको भत्र्सना गर्नुभयो । “गोली नचलाउनु पर्नेमा प्रहरीले गोली चलाएको छ, स्थानीय जनप्रतिनिधिले प्रहरीबाट ज्यादती भएको भनेका छन्,” उहाँले प्रश्न गर्नुभयो, “प्रहरीको ज्यादतीको छानबिन हुन्छ कि हुँदैन ?”

यस्तै, समय मागेर सांसद पूर्णकुमारी सुवेदीले यही वैशाख २२ गते बाँकेमा भएको सामूहिक बलात्कार घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । “छोरी चेली कहिलेसम्म असुरक्षित हुने हो ?,” उहाँले सरकारलाई प्रश्न गर्नुभयो, “घटनामा संलग्नलाई कहिले कारबाही हुन्छ ?”

सांसद लालबहादुर थापाले बाजुरा जिल्लास्थित बूढीगङ्गा नगरपालिकाको स्थानीय निर्वाचनलाई प्रभावित बनाउन सरकारले अनुचित दबाब दिएको बताउँदै जिल्ला सुरक्षा समितिलाई निर्वाचनलाई स्थगित गर्ने अधिकार कस्ले दियो भनी प्रश्न गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com