यसरी व्यवस्थापन गरिन्छ न्युयोर्क सिटीको बार्षिक १४ मिलियन टन फोहोर
प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार
न्युयोर्क सिटीले एक वर्षमा १४ मिलियन टन भन्दा बढी फोहोर उत्पादन गर्छ भने फोहोर व्यवस्थापनमा लगभग २ दशमलव ३ बिलियन डलर खर्च गर्छ । फोहोरको व्यस्थापनका लागि कहिलेकाँही ७ हजार माइल टाढाको चीनसम्म पठाउने गरिन्छ ।
फोहोर व्यवस्थापन गर्न न्युयोर्क सिटी जटिल फोहोर व्यवस्थापन इकोसिस्टममा भर परेको छ । फोहोर व्यवस्थापनमा ट्रक, रेल र बार्जकोृ प्रयोग गरिन्छ भने फोहोर उठाउनमात्र १६६८ वटा फोहोर उठाउने ट्रकहरु रहेका छन् । त्योबाहेक थप २४८ वटा निजी फोहोर ओसार्ने कम्पनीहरू छन् ।

फोहोर व्यवस्थापन समस्या न्युयोर्कका लागि नयाँ होइन। सन् १६५७ को एउटा अध्यादेशमा वर्णन गरिए अनुशार न्युयोर्कका बासिन्दाहरूले सार्वजनिक सडकमा फोहोर, खरानी, मरेका जनावरहरू फाल्ने गर्थे । सन् १९०० को मध्य सम्म न्युयोर्कको फोहोरलाई समुन्द्रमा फ्याकिन्थ्यो । कुनै बेला न्युयोर्कको ८० प्रतिशत फोहोर समुन्द्रमा फ्याकिन्थ्यो ।
न्युयोर्क सिटीको सबैभन्दा दीर्घकालिन फोहोर व्यवस्थापन अन्तरगत खरानी, भग्नावशेष र अन्य फोहोर कृत्रिम भूमि बनाउन प्रयोग गरिएको थियो । जसले गर्दा न्युयोर्कको आफ्नै आकार बढेको थियो । न्युयोर्क सिटीको जमिनको ठूलो भाग र अहिलेका कैयन महँगा क्षेत्रहरु फोहोरबाट बनाइएका हुन् ।
सन् १६६० को नक्सासँग हालको न्युयोर्क सिटीको तल्लो म्यानहट्टनको नक्साको तुलना गर्दा फोहोरको माथि बनाइएको जमिनको कति भाग मानव निर्मित हो भनेर देखाउँछ । त्यहाँ फोहोरका अतिरिक्त अन्य भग्नावशेषहरु पनि फ्याकिएको थियो ।

अहिले न्युयोर्क सिटीले झण्डै बार्षिक १४ मिलियन टन फोहोर एउटा सार्वजनिक र एउटा निजी तरिकाबाट व्यवस्थापन गर्छ। सार्वजनिक प्रणालीले आवास र सरकारी भवनहरूका साथै केही गैर नाफामुलक निकायका फोहोर व्यवस्थापन गर्दछ। यो सार्वजनिक फोहोर कुल शहरको फोहोरको एक चौथाई मात्र हो । यसको संकलन न्युयोर्कको सरसफाइ विभागले गर्छ ।
न्युयोर्कको फोहोरको अन्य तीन चौथाई फोहोर व्यावसायिक व्यवसायहरूद्वारा उत्पादन हुन्छ । जसमध्ये अधिकांश निर्माण परियोजनाहरूबाट निस्कने फोहोर हो। यो निजी फोहोरको सङ्कलन सरकारी बजेटबाट हुँदैन । उक्त फोहोर हटाउनको लागि व्यवसायले शहरको २४८ इजाजतपत्र प्राप्त फोहोर ढुवानी गर्ने निजी कम्पनी मध्ये एकलाई रकम तिर्नु पर्छ।
फोहोर फयाक्नु अगाडि न्युयोर्कको कानून अनुशार यसलाई तीन कोटिहरूमा विभाजन गर्न आवश्यक छ । कागज छुट्टै राख्नुपर्छ भने धातु, काँच र प्लाष्टिक छुट्टै्र राख्नुपर्छ । त्यो बाहेक पुन प्रयोग गर्न नमिल्ने कुहिने मिश्रित ठोस फोहोर छुट्टै राख्नुपर्छ । हरेक प्रकारको फोहोर सामान्यतया अलग अलग सङ्कलन गरिन्छ । यसको अन्तिम गन्त्वय पनि फरक फरक फरक हुन्छ ।
न्युयोर्क सिटीबाट फोहोर संकलन गरेपछि ट्रकहरूले न्युयोर्कको फोहोर स्थानान्तरण स्टेशनहरू मध्ये एउटामा फोहोर जम्मा गर्छन् । त्यहाँबाट फोहोर बार्ज वा रेलमा लोड गरेर ६ सय माइलको यात्रा गर्दै अन्तिम गन्तव्यमा लगिन्छ । न्युयोर्कको पुन प्रयोग गर्न नसकिने कुहिने खालको मिश्रित ठोस फोहोरको ८० प्रतिशत ल्यान्डफिल साइटमा लगिन्छ । कुनै बेला न्युयोर्क सिटीको फोहोर फ्याक्न स्टेटन आइल्याण्डको फ्रेश किल्स ल्यान्डफिल प्रयोग गरिन्थ्यो । विश्वको सबैभन्दा ठूलो फोहोर फ्याक्ने यो स्थान २२०० एकडमा फैलिएको थियो। तर यो बन्द भइसकेको छ ।
अहिले पुराना ल्यान्डफिल साइटहरूलाई पार्कमा परिणत गर्ने प्रयास भइरहेको छ। स्टेटन आइल्याण्डमा ल्याण्डफिललाई फ्रेशकिल्स पार्क बनाइएको छ भने ब्रुकलिनमा पनि ल्याण्डफिल साइटलाई पार्कमा रुपान्तरण गरिएको छ । अहिले न्युयोर्क सिटीको फोहोर सिटी बाहिरका ल्यान्डफिलहरूमा जान्छ । फोहोरको ठूलो हिस्सा फिंगर लेकको ल्यान्डफिल साइटमा पठाइने गरेको छ ।
२० प्रतिशत फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा लगिन्छ । जहाँ फोहोर जलाएर ऊर्जामा रूपान्तरण गरिन्छ । कागज र धातु/ग्लास/प्लास्टिकको फोहोर शहरको रिसाइकल गर्न मिल्ने ह्यान्डलिङ र रिकभरी केन्द्रका विशेष प्लान्टहरूमा लगिन्छ । जसले पुन प्रयोग गर्न मिल्ने सामग्रीहरू छुट्याउने र क्रमबद्ध बनाउने काम गर्छ । यो बिन्दुबाट न्युयोर्कको पुन प्रयोगयोग्य फोहोरको यात्रा धेरै सम्भावित दिशाहरूमा विभाजित हुन्छ। यसको केही पेपर मिल लगायत स्थानीय कच्चा पदार्थ प्रशोधन केन्द्रलाई बेचिन्छ । केही ६ हजारदेखि ७ हजार माइल टाढा भारत र चीनमा निर्यात गरिन्छ ।
केही फोहोर अन्तर्राष्ट्रिय एजेन्ट मार्फत बेचिन्छ । केही विशिष्ट वस्तुहरू छुट्याएर तिनीहरूको अन्तिम प्रयोगकर्ताहरूलाई सीधै बेचिन्छ । उदाहरणका लागि क्रेटहरु कोका कोला बोटलिङ प्लान्टमा बेचिन्छ भने बियरका बोटलहरु बियर कम्पनीहरुलाई बेचिन्छ ।
सन् २०३० सम्म ल्याण्डफिल साइट बन्द गर्ने लक्ष्य
न्युयोर्क शहरका बासिन्दाहरूले हरेक दिन लगभग १३ हजार टन फोहोर उत्पादन गर्छन्। यस फोहोरको ८१ प्रतिशत उत्तरपूर्वी क्षेत्रमा ल्यान्डफिलहरू र इन्सिनरेटरहरूमा पुग्छ । फोहोर सड्दा यसबाट कार्बन डाइअक्साइडभन्दा ३० गुणा बढी शक्तिशाली हरितगृह ग्यास मिथेन निस्कन्छ। फोहोरलाई ढुवानी गर्ने डिजेल ट्रकहरूले फोहोरलाई पृथ्वीको वरिपरि ३१२ पटकभन्दा बढी घुम्ने बराबरको दूरी बोक्छन् ।
यी प्रभावहरू विरुद्ध लड्न न्युयोर्क शहरले सन् २०३० सम्म ल्यान्डफिलहरूमा फोहोर पठाउन बन्द गर्ने लक्ष्य लिएको छ । यस लक्ष्यका लागि डिस्पोज गरिएका सामानहरूको मात्रामा कमीका साथै सामग्रीको रिकभरी र पुन प्रयोग आवश्यक हुन्छ ।
न्युयोर्क बासीले उत्पादन गर्ने फोहोरको झण्डै एक तिहाइ जैविक पदार्थ हो। कम्पोष्टिङ प्रक्रिया मार्फत यो खाद्य फोहोरलाई टुक्राइन्छ र बिरुवा र फार्महरूको लागि मलमा पुन प्रयोग गरिन्छ। यद्यपि सहरले गत दशकमा यसको जैविक सङ्कलन प्रक्रियालाई विस्तार गरेपनि बचेको खानाको सानो अंश मात्र ल्यान्डफिलहरूमा जानबाट रोकिएको छ ।
न्युयोर्कलाई अझ बलियो, भरपर्दो र पहुँचयोग्य कम्पोस्टिङ प्रणाली आवश्यक छ । त्यसका लागि सरकारी अधिकारी र व्यवसायीहरूको दीर्घकालीन प्रतिबद्धता र सहयोग आवश्यक छ । त्यसका लागि समुदायको लागि खाद्य फोहोरको पृथकीकरणलाई सुविधाजनक र स्वच्छ बनाउन आवश्यक छ भने छिमेकभर प्रभावकारी सङ्कलन प्रक्रिया सुनिश्चित गर्न आवश्यक छ।
फोहोर प्रवाहको अर्को ठूलो भागमा सुपरमार्केटको झोला, स्ट्र, बोतल र क्यापहरू र सिगरेटका बटहरू जस्ता प्लास्टिकहरू हुन्छन्, जसका फिल्टरहरूमा साना प्लास्टिक फाइबरहरू हुन्छन्। प्लास्टिक कुहिन ४५० वर्षभन्दा बढी समय लाग्छ भने नकुहिदासम्म मिथेन उत्सर्जन गर्ने ल्यान्डफिलमा रहिरहन्छ ।
गत वर्ष न्युयोर्क सिटी काउन्सिलले खानेकुराको कारोबार गर्ने स्थानमा ग्राहकको अनुरोध बिना प्लास्टिक स्ट्राहरू उपलब्ध गराउन प्रतिबन्ध लगाउने बिल पारित गरेको थियो । शहरले व्यवसाय र समुदाय बीच एकपटकमात्र प्रयोग गरिने प्लास्टिकको खपत कम गर्नमा ध्यान केन्द्रित गर्न जारी राख्नुपर्छ।
न्युयोर्कको हालको फोहोर व्यवस्थापन प्रक्रियामा धेरै त्रुटिहरू छन् जसले शहरलाई शून्य फोहोर लक्ष्यमा पुग्नबाट रोक्छ । जसमध्ये धेरै भवन डिजाइनसँग सम्बन्धित छन् । भवनहरूले कोठामा फिट हुन सक्ने भन्दा बढी फोहोर उत्पादन गरिरहेका छन्, परिणामस्वरूप फोहोरको ओभरफ्लो कोरिडोरहरूमा पुग्छ । जसले सेवा क्षेत्रहरू र बाहिर निस्कने वा फुटपाथहरूमा पहुँच रोक्छ । कीराहरू र अन्य वातावरण प्रदुषणको समस्याहरू निम्त्याउँछ । फोहोर फेयाक्ने कोठाको आकारले छुट्टै अर्गानिक संकलनको निर्माणमा पनि बाधा पुर्याउँछ।
व्यावसायिक भवनहरूमा फोहोर भण्डारण क्षेत्रहरूको लागि आकार आवश्यकताहरू सेट गर्न र निर्माण स्वीकृति अघि फोहोर व्यवस्थापन योजना पेश गर्न आवश्यक छ । जसले रिसाइकल क्षमतामा वृद्धि हुनेछ।
गत वर्षदेखि, न्युयोर्कले व्यावसायिक फोहोर क्षेत्रहरू लागू गर्नमा ध्यान केन्द्रित गरेको छ । यो कार्यक्रमले सहरलाई बीस क्षेत्रहरूमा विभाजन गर्छ । जसमध्ये प्रत्येकमा तीनवटा सम्म मात्रै फोहोर ओसारपसार सेवाहरू सम्झौता हुन सक्छन्। स्वीकृत भएपछि यी फोहोर ओसारपसार सेवा १० वर्षको लागि सम्झौतामा हुनेछन्। यसले ल्याण्डफिलहरूबाट फोहोर डाइभर्सन दर बढाउनेछ । साथै सवारी साधनको यातायातबाट वातावरणमा पर्ने असर सीमित गर्नेछ। शहरव्यापी मानकीकरणले स्रोतहरूको अभाव भएका क्षेत्रहरूलाई रिसाइकल र फोहोर व्यवस्थापनका लागि समान अवसरहरू प्रदान गरिने सुनिश्चित गर्नेछ ।
न्युयोर्क सिटीको फोहोर व्यवस्थापन प्रणाली पूर्णताको नजिक छैन । तर नयाँ नीतिहरू अपनाएर सुधारको लागि आवश्यक परिवर्तनहरू गर्न सकिन्छ । न्युयोर्क सिटीको फोहोरको प्रयोग, विसर्जन र डाइभर्सनमा वास्तविक प्रगति गर्न प्रशासन र सिटी काउन्सिलबाट थप प्रतिबद्धता आउन आवश्यक छ। यी कार्यक्रमहरू विस्तार गर्न नयाँ कानून पारित गर्नाले फोहोर सङ्कलन लागत घटाउने छ भने सडक स्वच्छता र आकर्षण बढाउने र समुदायको स्वास्थ्यलाई फाइदा पुर्याउनेछ।






