Follow @khasokhasmag

अमेरिकामा १० जनामा मङकीपक्स संक्रमण, जोगिने ८ उपाय, संक्रमण भइहाले के गर्ने ?


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

अमेरिकामा १० जनामा मङकीपक्स संक्रमण भएको छ । क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, मासाचुसेट्स, युटाह, न्युयोर्क, भर्जिनिया र वासिंटन राज्यमा संक्रमण पुष्टी भएको सीडीसीले जनाएको छ ।

अफ्रिकाबाहिर विश्वका २२ देशमा झण्डै साढे ३ सयमा संक्रमण भइसकेको मङकीपक्सका अधिक केसहरु देखिनसक्ने चेतावनी दिइएको छ । समलिंगी वा द्वीलिंगी पुरुषहरुबीच जनचेतना फैलाइएको छ । तर मङकीपक्स यौनसम्पर्कबाट सर्ने संक्रमण नभएको तथा जुनसुकै लिंगका व्यक्ति पनि संक्रमित हुनसक्ने सीडीसीले प्रष्ट पारेको छ ।

कसरी जोगिने ?

मङकीपक्सको संक्रमणबाट जोगिनका लागि स्वास्थ्यविदहरुले विभिन्न सुझावहरु दिएका छन् । सीडीसी र विश्व स्वास्थ्य संगठनले विभिन्न ८ वटा सुझावहरु दिएका छन् ।

१ – भर्खरै भाइरस पत्ता लागेको व्यक्ति वा संक्रमित भएका व्यक्तिहरूको सम्पर्कमा नआउन पहिलो सुझाव दिइएको छ ।

२ –  त्यस्तै लक्षणहरू भएका कसैसँग नजिकको सम्पर्कमा भएको खण्डमा मास्क लगाउन सुझाव दिइएको छ ।

३ – कण्डम प्रयोग गर्न सुझाव दिइनुका साथै हालै यौन पार्टनरहरु परिवर्तन गरेको खण्डमा लक्षणहरूमा ध्यान दिन सुझाव दिइएको छ ।

४ – भाइरस बोक्न सक्ने जनावरहरूको सम्पर्कमा नआउन सुझाव दिइएको छ, जसमा बिरामी वा मरेका जनावरहरू र विशेष गरी बाँदर, मुसा र प्रेरी डगजस्ता संक्रमणको इतिहास भएकाहरू समावेश छन्।

५ – त्यस्तै विशेष गरी संक्रमित वा संदिग्ध संक्रमित जनावर वा मानिसको सम्पर्कमा आएपछि साबुन र पानीले हात धुन वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सुझाव दिइएको छ ।

६ – मङकीपक्स संक्रमण पुष्टि भएका वा शंकास्पद बिरामीहरूको हेरचाह गर्दा व्यक्तिगत सुरक्षा उपकरण पीपीईहरू प्रयोग गर्न सुझाव दिइएको छ ।

७ – त्यस्तै एकदमै राम्रोसँग पकाएको मासुमात्र खान सुझाव दिइएको छ ।

८ – मङकीपक्स  सतह र सामग्री मार्फत पनि सर्न सक्ने भएकाले विरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू नछुन समेत सुझाव दिइएको छ ।

संक्रमण भइहाले के गर्ने ?

यदि तपाईंलाई मङकीपक्सको संक्रमण भएको आशंका छ भने तपाईंले आफूलाई अरूसँगको सम्पर्कबाट अलग्गै आइसोलेसनमा राख्नुपर्छ र तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, सुन्निने र ढाड दुख्ने हुन्छ। अनुहार, हात, खुट्टा, आँखा, मुख वा जननांगमा एकदेखि पाँच दिनभित्र दाना र घाउ देखा पर्छन्। उठेका बम्पहरू पछि फोका बन्छन् भने फुट्नु अगाडि पिपले भरिन सक्छन् ।

भाइरसका धेरै लक्षणहरू अन्य रोगहरूसँग समेत मिल्दाजुल्दा हुन सक्छन् । ठेउला, हर्पेस वा सिफिलिस जस्ता रोगसँग लक्षणहरु मिल्दाजुल्दा हुनसक्छन् । त्यसैले मङकीपक्सको संक्रमण हो होइन भन्ने कुरा परीक्षणबाट पुष्टी गर्नुपर्छ ।

यदि तपाईलाई मङकीपक्सको संक्रमण पुष्टी भएको छ भने भाइरस अन्त्य नभएसम्म आइसोलेसनमा बस्नुपर्छ । रोग सामान्यतया हल्का हुन्छ र धेरैजसो मानिसहरू दुई देखि चार हप्ता भित्र निको हुन्छन्।

विफरको खोप दिन सकिने

सीडीसीका अधिकारीहरुले पनि इन्क्युबेशन अवधि ढिलो भएका मङकीपक्सको सम्पर्कमा आएका बिरामीको गम्भीरतालाई सीमित गर्न विफरको खोप दिन सकिने बताएका थिए ।

कोरोनाजस्तै मङकीपक्सको संक्रमण व्यक्तिमाझ सहजै हुँदैन । मङकीपक्स स्वासप्रश्वासका क्रममा ठूला ड्रपलेटहरुबाट फैलिन्छ भने नजिकको संसर्ग भएको अवस्थामा मात्र यो रोग सर्ने चिकित्सकहरुको भनाई छ । त्यसैले अंकमाल गर्दा, स्पर्श गर्दा वा आमनेसामने भएर कुरा गर्दा पनि मङकीपक्सको संक्रमण हुनसक्छ ।

छालाका घाउहरु वा शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्क वा संक्रमण फैलिएको कपडा वा विस्तारासँगको अप्रत्यक्ष सम्पर्कबाट समेत यो रोग फैलिन्छ ।

मङकीपक्सको उपचार रुघाखोकीजस्तै गर्दा धेरैजसो मामलामा ठीक हुने गरेको छ । अधिकाश व्यक्ति केही सातामा विना उपचार नै निको हुने गरेका छन् । अहिलेसम्म मङकीपक्सका लागि कुनै भ्याक्सिन छैन । तर महामारीलाई रोक्न बिफरको भ्याक्सिन पनि प्रयोग गर्न सकिने स्वास्थ्यविदहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार विफरकै भ्याक्सिनले मङकीपक्सविरुद्ध ८५ प्रतिशत संरक्षण प्रदान गर्नसक्छ । बाल्यकालमा विफरको भ्याक्सिन लगाएकाहरुमा मङकीपक्सको सामान्य लक्षणमात्र देखिने गरेको जनाइएको छ ।

दुईवटा एन्टीभाइरल औषधीहरु सिडोफोविर र टेकोभिरिम्याटपनि मङकीपक्सको महामारी रोक्न प्रयोग गर्न सकिने जनाइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com