अमेरिकामा ७ जनामा मङकीपक्स संक्रमण, भ्याक्सिन जारी गर्दै सरकार


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

अमेरिकामा ७ जनामा मङकीपक्स संक्रमण भएको छ । मासाचुसेट्समा एकजनामा संक्रमण पुष्टी भएको छ भने न्युयोर्कमा एकजनामा, वासिंटन राज्यमा एकजनामा, युटाहमा २ जनामा र फ्लोरिडामा २ जनामा गरी ६ जनामा मङकीपक्सको आशंका गरिएको छ । सीडीसीका अधिकारीहरुले जोखिम कमै रहेको र भाइरस अधिक संक्रामक भएको कुनै प्रमाण नरहेको प्रष्ट पारेका छन् ।

सीडीसीका अनुशार सरकारले भण्डारबाट केही भ्याक्सिन जारी गर्ने तयारी गरिरहेको छ । सबै सर्वसाधारणहरुलाई मङकीपक्सविरुद्ध भ्याक्सिन दिन आवश्यक नभएको तर संक्रमितको संसर्गमा गएकाहरुमा भ्याक्सिनको प्रयोग गरिने अधिकारीहरुले बताएका छन् । सीडीसीले अधिक केसहरु देखिनसक्ने चेतावनी दिएको छ भने समलिंगी वा द्वीलिंगी पुरुषहरुबीच जनचेतना फैलाएको छ । तर मङकीपक्स यौनसम्पर्कबाट सर्ने संक्रमण नभएको तथा जुनसुकै लिंगका व्यक्ति पनि संक्रमित हुनसक्ने सीडीसीले प्रष्ट पारेको छ ।

यसैबीच मङकीपक्स संक्रमितलाई बेल्जियममा २१ दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने नियम लागु गरिएको छ । विश्वब्यापी संकट बढिरहेको बेलामा मङकीपक्स संक्रमितलाई अनिवार्य क्वारेन्टीनको नियम लागु गर्ने बेल्जियम पहिलो देश हो ।

सोमबारसम्म बेल्जियममा मङकीपक्सको संक्रमण ४ जनामा पुष्टी भइसकेको छ । विश्वका झण्डै १ दर्जन देशमा अहिलेसम्म झण्डै १ सय जनामा मङकीपक्सको संक्रमण पुष्टी भइसकेको छ ।

त्यस्तै यूकेले पनि मङकीपक्स संक्रमणको उच्च जोखिममा रहेकाहरु २१ दिन आइसोलेसनमा बस्नुपर्ने बताएको छ । संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यहरु र स्वास्थ्यकर्मीहरुलाई समेत २१ दिन आफै आइसोलेसनमा बस्न सुझाव दिइएको छ ।

सीडीसीका अधिकारीहरुले पनि इन्क्युबेशन अवधि ढिलो भएका मङकीपक्सको सम्पर्कमा आएका बिरामीको गम्भीरतालाई सीमित गर्न विफरको खोप दिन सकिने बताएका थिए ।

सामान्यतया मध्य र पश्चिम अफ्रिकामा पाइने गरेको दुर्लभ प्रकारको रोग मङकीपक्स अमेरिका, अष्ट्रेलिया र कैयन युरोपियन देशहरुमा देखिएपछि यसलाई अस्वभाविक मानिएको हो । अहिलेसम्म मङकीपक्स यूके, अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल, स्पेन, पोर्चुगल, स्वीडेन, फ्रान्स, बेल्जियम, जर्मनी, इटली र स्वीट्जरल्याण्डमा पुष्टी भइसकेको छ ।

अहिलेको मङकीपक्स महामारीको पहिलो केस मे ७ मा यूकेमा भेटिएको थियो । ती व्यक्तिले नाइजेरियाको भ्रमण गरेका थिए । पछिल्ला केसहरु भने मङकीपक्स नियमित रोग इन्डेमिक भइरसकेका मुलुकसँग सम्बन्धित नभएको बताइएको छ ।

कोरोनाजस्तै मङकीपक्सको संक्रमण व्यक्तिमाझ सहजै हुँदैन । मङकीपक्स स्वासप्रश्वासका क्रममा ठूला ड्रपलेटहरुबाट फैलिन्छ भने नजिकको संसर्ग भएको अवस्थामा मात्र यो रोग सर्ने चिकित्सकहरुको भनाई छ । त्यसैले अंकमाल गर्दा, स्पर्श गर्दा वा आमनेसामने भएर कुरा गर्दा पनि मङकीपक्सको संक्रमण हुनसक्छ ।

छालाका घाउहरु वा शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्क वा संक्रमण फैलिएको कपडा वा विस्तारासँगको अप्रत्यक्ष सम्पर्कबाट समेत यो रोग फैलिन्छ ।

मङकीपक्सको संक्रमण भएका अधिकांशमा सामान्य प्रकारको रुघाखोकीजस्तो लक्षण देखिएको छ । त्यस्तै ज्वरो आउने र पिठ्यु दुख्ने जस्ता लक्षणहरु समेत देखिएको छ । संक्रमितहरुमा छालामा चालाहरु र फोकाहरु समेत देखिने गरेको छ । तर दुईदेखि ४ सातामा आफै लक्षणहरु हराउने गरेको पाइएको छ ।

चालाहरु अनुहारबाट सुरु हुने गरेको पाइएको छ भने यौनांग लगायत शरीरका अन्य भागमा फैलिने गरेको छ । कतिपय फोकाहरु पिपले भरिएका समेत हुने गरेका छन् भने पछि फोकाहरु फुटेर पिप बाहिर निस्कने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुशार ठेउलाका कारण देखिने चालाहरु र मङकीपक्सका कारण देखिने चालामा फरक छुट्याउन कठिन हुने भएतापनि लिम्फ सुन्निने लक्षण प्राय मङकीपक्समा देखिने गरेको छ ।

सीडीसीका डाक्टर इन्गर डामनले नयाँ चालाहरु देखिएमा वा मङकीपक्स देखिएको आंशका लागेमा स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएका छन् ।

मङकीपक्स कतिपय अवस्थामा अत्यन्तै खतरनाक हुने गरेको छ । मङकीपक्सका कारण मृत्यु हुने सम्भावना १ देखि १० प्रतिशतसम्म हुने विश्व स्वास्थ्य संगठनको भनाई छ । तर यो मङकीपक्सको भेरियन्टमा भर पर्ने जनाइएको छ । वेष्ट अफ्रिकन क्लेड र कंगो बेसिन क्लेड गरी दुईवटा भेरियन्ट रहेका छन् ।

यूकेमा देखिएका मामलाहरुमा वेष्ट अफ्रिकन क्लेड भेरियन्ट देखिएको अधिकारीहरुले बताएका छन् । पोर्चुगलमा देखिएको पनि सोही भेरियन्ट हो । यो भेरिन्यट मृत्युको कम जोखिमसँग सम्बन्धित रहेको र यो भेरियन्टबाट मृत्युको जोखिम १ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्यविदहरुले बताएका छन् ।

मङकीपक्सको उपचार रुघाखोकीजस्तै गर्दा धेरैजसो मामलामा ठीक हुने गरेको छ । अधिकाश व्यक्ति केही सातामा विना उपचार नै निको हुने गरेका छन् । अहिलेसम्म मङकीपक्सका लागि कुनै भ्याक्सिन छैन । तर महामारीलाई रोक्न बिफरको भ्याक्सिन पनि प्रयोग गर्न सकिने स्वास्थ्यविदहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार विफरकै भ्याक्सिनले मङकीपक्सविरुद्ध ८५ प्रतिशत संरक्षण प्रदान गर्नसक्छ । बाल्यकालमा विफरको भ्याक्सिन लगाएकाहरुमा मङकीपक्सको सामान्य लक्षणमात्र देखिने गरेको जनाइएको छ । बेलायतमा स्वास्थ्यकर्मीहरुमा संरक्षण बढाउन स्वास्थ्यकर्मीहरुलाई बिफरको भ्याक्सिन लगाउन भनिएको छ ।

दुईवटा एन्टीभाइरल औषधीहरु सिडोफोविर र टेकोभिरिम्याटपनि मङकीपक्सको महामारी रोक्न प्रयोग गर्न सकिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com