Follow @khasokhasmag

अमेरिका, युरोप र बेलायत लगायत १३ देशमा फैलिइसकेको मङकीपक्सबारे जान्नैपर्ने ५ तथ्य


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

सामान्यतया मध्य र पश्चिम अफ्रिकामा पाइने गरेको दुर्लभ प्रकारको रोग मङकीपक्स अमेरिका, अष्ट्रेलिया र कैयन युरोपियन देशहरुमा देखिएपछि यसलाई अस्वभाविक मानिएको छ । शुक्रबार जर्मन र अष्ट्रेलियाका अधिकारीहरुले पनि त्यहाँ मङकीपक्स देखिएको पुष्टी गरिसकेका छन् ।

अहिलेसम्म कहाँ कहाँ भेटियो ?

अहिलेसम्म विश्वका १३ देशमा का ८० वटा संक्रमणहरु भेटिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ ।

न्युयोर्क सिटीका स्वास्थ्य अधिकारीहरुले बुधबार अमेरिकामा मङकीपक्सको दोश्रो केस पनि भेटिएपछि थप अनुसन्धान सुरु गरिएको बताएका छन् । अहिलेसम्म मङकीपक्स यूके, अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल, स्पेन, पोर्चुगल, स्वीडेन, फ्रान्स, बेल्जियम, जर्मनी, इटली र स्वीट्जरल्याण्डमा पुष्टी भइसकेको छ ।

अहिलेको मङकीपक्स महामारीको पहिलो केस मे ७ मा यूकेमा भेटिएको थियो । ती व्यक्तिले नाइजेरियाको भ्रमण गरेका थिए । पछिल्ला केसहरु भने मङकीपक्स नियमित रोग इन्डेमिक भइरसकेका मुलुकसँग सम्बन्धित नभएको बताइएको छ । यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुशार शुक्रबारसम्म २० जनामा मङकीपक्सको संक्रमण देखिएको छ ।

कसरी फैलिन्छ मङकीपक्स ?

कोरोनाजस्तै मङकीपक्सको संक्रमण व्यक्तिमाझ सहजै हुँदैन । मङकीपक्स स्वासप्रश्वासका क्रममा ठूला ड्रपलेटहरुबाट फैलिन्छ भने नजिकको संसर्ग भएको अवस्थामा मात्र यो रोग सर्ने चिकित्सकहरुको भनाई छ ।

छालाका घाउहरु वा शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्क वा संक्रमण फैलिएको कपडा वा विस्तारासँगको अप्रत्यक्ष सम्पर्कबाट समेत यो रोग फैलिन्छ ।

कस्ता हुन्छन् मङकीपक्सका लक्षण ?

मङकीपक्सको संक्रमण भएका अधिकांशमा सामान्य प्रकारको रुघाखोकीजस्तो लक्षण देखिएको छ । त्यस्तै ज्वरो आउने र पिठ्यु दुख्ने जस्ता लक्षणहरु समेत देखिएको छ । संक्रमितहरुमा छालामा चालाहरु र फोकाहरु समेत देखिने गरेको छ । तर दुईदेखि ४ सातामा आफै लक्षणहरु हराउने गरेको पाइएको छ ।

चालाहरु अनुहारबाट सुरु हुने गरेको पाइएको छ भने यौनांग लगायत शरीरका अन्य भागमा फैलिने गरेको छ । कतिपय फोकाहरु पिपले भरिएका समेत हुने गरेका छन् भने पछि फोकाहरु फुटेर पिप बाहिर निस्कने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुशार ठेउलाका कारण देखिने चालाहरु र मङकीपक्सका कारण देखिने चालामा फरक छुट्याउन कठिन हुने भएतापनि लिम्फ सुन्निने लक्षण प्राय मङकीपक्समा देखिने गरेको छ ।

सीडीसीका डाक्टर इन्गर डामनले नयाँ चालाहरु देखिएमा वा मङकीपक्स देखिएको आंशका लागेमा स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएका छन् ।

कति खतरनाक ?

मङकीपक्स कतिपय अवस्थामा अत्यन्तै खतरनाक हुने गरेको छ । मङकीपक्सका कारण मृत्यु हुने सम्भावना १ देखि १० प्रतिशतसम्म हुने विश्व स्वास्थ्य संगठनको भनाई छ । तर यो मङकीपक्सको भेरियन्टमा भर पर्ने जनाइएको छ । वेष्ट अफ्रिकन क्लेड र कंगो बेसिन क्लेड गरी दुईवटा भेरियन्ट रहेका छन् ।

यूकेमा देखिएका मामलाहरुमा वेष्ट अफ्रिकन क्लेड भेरियन्ट देखिएको अधिकारीहरुले बताएका छन् । पोर्चुगलमा देखिएको पनि सोही भेरियन्ट हो । यो भेरिन्यट मृत्युको कम जोखिमसँग सम्बन्धित रहेको र यो भेरियन्टबाट मृत्युको जोखिम १ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्यविदहरुले बताएका छन् ।

कसरी हुन्छ उपचार ?

मङकीपक्सको उपचार रुघाखोकीजस्तै गर्दा धेरैजसो मामलामा ठीक हुने गरेको छ । अधिकाश व्यक्ति केही सातामा विना उपचार नै निको हुने गरेका छन् । अहिलेसम्म मङकीपक्सका लागि कुनै भ्याक्सिन छैन । तर महामारीलाई रोक्न बिफरको भ्याक्सिन पनि प्रयोग गर्न सकिने स्वास्थ्यविदहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार विफरकै भ्याक्सिनले मङकीपक्सविरुद्ध ८५ प्रतिशत संरक्षण प्रदान गर्नसक्छ । बाल्यकालमा विफरको भ्याक्सिन लगाएकाहरुमा मङकीपक्सको सामान्य लक्षणमात्र देखिने गरेको जनाइएको छ । बेलायतमा स्वास्थ्यकर्मीहरुमा संरक्षण बढाउन स्वास्थ्यकर्मीहरुलाई बिफरको भ्याक्सिन लगाउन भनिएको छ ।

दुईवटा एन्टीभाइरल औषधीहरु सिडोफोविर र टेकोभिरिम्याटपनि मङकीपक्सको महामारी रोक्न प्रयोग गर्न सकिने जनाइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com