Follow @khasokhasmag

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित


प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार

स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो ।

पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको थियो । नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री यसअघि नगर प्रमुख हुनुहुन्थ्यो । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गर्नुभएकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित हुनुभएको हो ।

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएका रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो भने पराजित हुनुभएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गर्नुभयो ।

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित हुुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिनुभएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका थापा छ हजार ७०० मत ल्याएर विजयी हुँदै गर्दा राना पाँच हजार ५५ मत ल्याएर पराजित हुनुभयो ।

विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको थियो । यो उहाँको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना हुनुहुन्थ्यो तर तीनै जना अनुमोदित हुन सक्नुभएन ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com