मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

– नवीन लामिछाने,

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् ।

तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदानकार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरु आजदेखिनै यार्सागुम्बा संकलनमा आफुलाई व्यस्त बनाएका छन् ।

मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरुको मुख्य आयस्रोत जङ्गली औषधीजन्य जडिबुटी यार्सागुम्बा नै हो । उनीहरु जडिबुटी संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ”, चामे गाउँपालिका–४ जगबहादुर गुरुङले भन्नुभयो । उहाँले मनाङको विकासको लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदानकार्य सकेर पुनःखर्कतर्फ फर्किएको बताउनुभयो ।

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुग्नुभएका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताउनुभयो । “समयमा नै यार्सागुम्बा संकलन गर्न सकिएन भने पछि हराउँछ, त्यही भएर आजभोलि खर्कतर्फ छिटो फर्किन लागेका छौँ”, उहाँले भन्नुभयो ।

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत बैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि उनीहरु खर्कतर्फ मतदान सकिएको भोलिपल्टै खर्क उक्लिएको स्थानीय बताउँछन् ।

विशेषगरी यो मौसम यार्सागुम्बा संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रुपमा लिइन्छ । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो ।

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ ।

यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताउनुभयो । यार्सागुम्बा संकलनकार्य नाम्केखर्कबाट शुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । बैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् ।

यार्सागुम्बा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरुले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एक वटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरु र खरिद गर्न आउने व्यक्तिहरुले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भएपनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद विक्री गर्न नसक्दा जिल्लाको राजश्व पनि घटेको जनाइएको छ । यसवर्ष भने सहजरुपमा जडीबुटी संकलन हुने भएकाले राजश्व बृद्धि हुने अपेक्षा गरिएको छ ।/फाइल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com