भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई भोट’


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

– रमेश गिरी,
गहुँ भित्र्याउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवायुवती आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा ‘हाम्रालाई होइन, राम्रालाई भोट’ दिने बताउँछन् । गहुँ काट्दै गरेको खेतमा होस् वा, चिया पसल, कलेज गएर फर्कंदै गरेका विद्यार्थीलाई होस्, घरमा काम गर्ने महिला वा ज्येष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन, राम्रालाई भोट ।’

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको विकास गर्न सक्ने, क्षमतावान र पूरा गर्नसक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु ।

मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्तनै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।” उहाँले उत्साहपूर्वक भन्नुभयो । कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको बताउँदै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन आफुले सुझाब दिएको तर मताधिकारको सवालमा भने कसैले दबाब नदिएको बताउनुहुन्छ ।

यस्तै सूर्यविनायक–४ दधिकोटको पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँ विकास गर्न सक्छ भन्ने सही आँकलन गरेर मात्रै राम्रा नेतालाई भोट दिने बताउनुहुन्छ । आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको विकासलाई पनि मूल्याङ्कन गर्ने बताउनुहुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “मतदातालाई यस पटक सजिलो छ, विगतमा जितेर जाने नेताले कति विकास गरे, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनावमा र हारेका पार्टीका नेता नागरिकको दुःखसुख बुझ्न आफ्नो गाउँमा आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्याङ्कन गरेर मतदान गर्ने विचार गरेको छु ।”

सबै दलका घोषणा पत्रमा ‘आर्दशता’ कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनुहुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुहुन्छ, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको विकास गर्नसक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोलि हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।”

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले ज्येष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, वृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यवस्था गरिदिने, भजनकीर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

त्यस्तै चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवालाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यवस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर सङ्कल्प गर्ने नेतालाई भोट दिने बताउनुहुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सिर्जना गर्न सक्ने मतदाता बताउँछन् ।

स्थानीय तहमा अहिलेसम्म नेपाल मजदुर किसान पार्टीले एकछत्र राज गर्दै आएको भक्तपुर नगरका बासिन्दा गरिब नागरिकको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यवस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुरभरका किसानले सधैँ मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यवस्था गर्नसक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति ।

भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको सहर भक्तपुरमा ‘कोर क्षेत्र’भन्दा बाहिर पनि विकासको योजना नेताहरुले बनाउनुपर्ने बताउनुहुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिङ्गो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा विकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनुहुन्छ ।

मध्यपुरथिमिका बासिन्दा सम्पदाको विकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा विकास भएर हामी खुसी छौँ, कौसी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती विकासको योजना ल्याएर जनतासँग प्रत्यक्षरुपमा सधैँ घुलमिल हुने, चुनावमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनुहुन्छ । उहाँ पनि ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’ भन्ने पक्षमा देखिनुहुन्छ ।-फाइल फोटो/ रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com