युक्रेन–रुस युद्ध : चीनलाई घाटा कि फाइदा ?


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

 

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो । युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने उसको विदेश नीतिमा रुस र युक्रेन दुवैको आ–आफ्नै महत्त्व छन्।

बढ्दो चिनियाँ लगानी

युक्रेनमा चीनको रणनीतिक चाखको खास कारण छ। विशेषतः युक्रेनको उत्कृष्ट अवस्थिति र युरोपेली संघसँग युक्रेनको स्वतन्त्र व्यापार सम्झौताले चीन आकर्षित छ। यी दुई कारणले नै युक्रेनमा गत एक दशकमा चिनियाँ लगानी बढेको छ। साथै युक्रेनबाट चीन जाने खनिज र कृषिजन्य उत्पादनमा पनि वृद्धि भएको छ।

यो आपसी लेनदेनको वास्तविक सुरुवात सन् २०१३ मा सुरु भएको थियो । त्यो वर्ष युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिच चीनको लामो भ्रमणमा गएका थिए। भ्रमणका क्रममा धेरै सम्झौताहरू भयो । त्यसको प्रतिफल अहिले देखिन थालेको छ । सन् २०१९ मा चीनले युक्रेनको सबैभन्दा ठूलो व्यापार साझेदारको रूपमा रुसलाई उछिन्यो ।

सन् २०२१ सम्ममा, दुई देशहरू बीचको पारस्परिक व्यापार १९ अर्ब डलर माथि पुगेको थियो । यो सन् २०१३ को तुलनामा पूर्ण ८० प्रतिशत बढी हो । अन्तर्राष्ट्रिय सम्बन्धमा गहन अनुसन्धान गर्ने अमेरिकास्थित ब्रुकिङ्स इन्स्टिच्युटका डेरिक पाल्मरका अनुसार युक्रेनमा चीनले एक ठूलो बजार भेटेको थियो। युक्रेनमा चीनबाट वर्षेनी १० अर्ब डलरको भारी मेसिनरी र उपभोग्य वस्तु निर्यात हुन थालेका थियो। तर अहिले यो बजार ठप्पप्राय बनेको छ।

‘कमैलाई मात्र थाहा भएको कुरा के हो भने चीनमा फलामको माग बढ्दै गएको छ । सहर र उद्योगहरूको विकासको लागि स्टिल आवश्यक हुन्छ । चीनको फलामको ओर न त गुणस्तरीय छ न नै उसँग त्यसको पर्याप्त खानी नै छ। त्यसैले चीनले अस्ट्रेलिया र ब्राजिल बाहेक युक्रेनबाट यो किनिरहेको थियो । तर अहिले युक्रेन बन्द भएपछि उ नयाँ बजार खोज्नुपर्ने स्थितिमा पुगेको छ।’

 

चिनियाँ अपिल

युक्रेनको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै चीनले दुवै देशलाई संयमता अपनाउन र वार्ताको माध्यमबाट विवाद समाधान गर्न लगातार अपिल गर्दै आएको छ । युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्रोफेसर अलेक्ज्याण्डर कुर्लेभका अनुसार ,‘युद्ध सुरु गर्नुअघि रुसले चीनलाई जानकारी गराएको वा नगरेको भए पनि युक्रेनमाथिको आक्रमण यति लामो र डरलाग्दो तरिकाले चल्ने बेइजिङलाई थाहा थिएन भन्ने कुरा निश्चित छ । त्यै पनि रुसले चीनको कारबाहीको आलोचना गरेन । किनभने उसलाई के थाहा छ भने विगत एक दशकदेखि अमेरिकाले चीनको बढ्दो शक्तिलाई रोक्न खोजिरहेको छ। दोस्रो, बेइजिङले रुसप्रति भारतको नरम दृष्टिकोणमाथि पनि नजर राखिरहेको छ।’

वास्तविकता के हो भने युक्रेन सङ्कटका कारण चीनले पनि युरोपेली युनियनमा लगानी र कनेक्टिभिटीसँग सम्बन्धी चुनौती सामना गरिरहेको छ । पछिल्ला केही वर्षहरूमा बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० मार्फत चीन र युक्रेन नजिकिएका थिए । दुई देशबीचको व्यापारको लागत घटेको थियो भने मात्रा बढेको थियो।

युक्रेन चीन–युरोप रेलवे एक्सप्रेस सेवाको एक स्पट हो । युद्धले यो अवरुद्ध भइरहेको समयमा युरोपेली बजारमा ‘मेड इन चाइना’को बढ्दो साम्राज्यमा अवरोध आएको छ। चीनले विगत केही वर्षदेखि युक्रेनसँग हतियार र सैन्य प्रविधिको क्षेत्रमा साझेदारी बढाउँदै लगेको थियो, जुन अब रोकिने निश्चित छ।

सिङ्गापुरको नेशनल युनिभर्सिटीका एसियन स्टडीजका प्राध्यापक कान्ति बाजपेयीको भनाइ छ ,‘ चीनले आफ्नो विदेश नीति र देशभित्रको आर्थिक विकासलाई साथमा लिएर अघि बढेको छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा उत्पादन आपूर्ति शृङ्खलालाई बाधा पुर्‍याउनु हुँदैन भन्ने कुरा हुन्छ। यही कुराले उसको कुन क्षेत्रमा कति निर्यात गर्ने निर्धारण गर्छ । पहिले युक्रेनबाट आयात धेरै महत्त्वपूर्ण थियो। अहिले उ विकल्पको द्रुत खोजमा छ।’

के छन् फाइदा ?

चीनको आर्थिक मुद्दालाई भूराजनीतिक रणनीतिबाट केही समयका लागि हटाइयो भने चीनलाई फाइदा हुने आशा गर्न सकिन्छ। रुस युक्रेनमा केही समय अल्झिरहने सङ्केतपछि अमेरिकासँग चीनको प्रतिस्पर्धा अब थप ठूलो र फराकिलो देखिन थालेका छ।

यस पक्षमा चीनको विश्वसनीयता बढी देखिन्छ । किनकि रुससँगको युक्रेनी युद्धमा अमेरिका र नाटोले छद्म रूपमा युक्रेनलाई सघाएर युद्ध वृद्धिमा सघाइरहेका छन्। अर्कोतर्फ, युद्धका कारण रुसमाथि पश्चिमी मुलुकहरूले लगाएको बृहत् आर्थिक प्रतिबन्ध थप गहिरिने र रुस आर्थिक रूपमा पहिलेभन्दा कमजोर हुँदै जानेछ ।

दिल्लीको फोर स्कूल अफ म्यानेजमेन्टका चीन मामिलाका विशेषज्ञ डा। फैसल अहमद भन्छन् ,‘युक्रेन युद्धका कारण चीनको प्रभाव इन्डो–प्यासिफिक क्षेत्रबाट अझ विस्तार हुदै मजबुद हुनेछ। अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने निर्णयपछि कैयौँ देशले चीनतर्फ सुरक्षाका नजरले हेर्न थालेका छन् ।’

कोभिड महामारी सुरुवातमा चीनले सामना गरेको ‘विश्वव्यापी आक्रोश’ अहिले प्रतिष्ठामा परिणत हुन सक्छ। व्यापार, विश्वव्यापी सुशासन, कनेक्टिभिटी यसका आधार हुन् । विश्वव्यापी सुरक्षाको यसमा ठूलो भूमिका हुने अपेक्षा गरिएको छ।

फैसल अहमदका अनुसार ,‘हालसालै, चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ को मस्यौदा तयार गर्ने कुरा गरेका छन्। त्यो शीतयुद्धको मानसिकता अन्त्य गर्न केन्द्रित हुनेछ। यस्तो प्रबन्धमा कैयौँ देश सहभागि हुन चाहन्छन्।’-बिबिसिबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com