विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

–भीष्मराज ओझा,

परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।

नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् ।

गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताउनुभयो । उहाँका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो ।

भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो

पुनःस्थापना केन्द्रमा हाल काठमाडौँ, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन् । केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन् ।

कार्यकारी निर्देशक जोशीले सो पुनःस्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताउनुभयो ।

संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनःस्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ । यो उनीहरुको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उहाँले बताउनुभयो । केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन् ।

खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन् । कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ ।

अनौपचारिक तथ्याङ्कानुसार हाल नेपालमा एक लाख ५० हजारको हाराहारीमा अश्व प्रजातिका घोडा, खच्चड र गधा रहेको अनुमान छ । तीमध्ये घोडा र खच्चडको सङ्ख्या तुलनात्मक धेरै भएपनि गधाको सङ्ख्या भने न्यून हुँदै गएको छ । यही अवस्था रहीरहे यो लोपोन्मुख जनावरको सूची हुने उहाँले बताउनुभयो । नेपालमा गधाको प्रजनन ज्यादै न्यून हुने गरेको र अधिकांश भारतका विभिन्न स्थानबाट भित्रिने गरेको छ । घोडा र खच्चड भने नेपालका पहाडमा बढी देखिन्छन् ।

एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने पहाडमा ढुवानीका लागि महत्वपूर्ण योगदान रहेको गधा संरक्षण राज्यका तर्फबाट प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । गधालाई घरपालुवा जनावरमा नराखी भारवाहक पशुका रूपमा राखिएको छ ।

स्पष्ट कानुन नहुँदा बिमा गर्न समस्या

स्पष्ट कानुन नहुँदा यसको बिमा गर्न पनि समस्या रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो । अश्व प्रजातिका जनावर बढी पाइने र काम हुने स्थानमा पशु चिकित्सकीय सेवा र तालिम प्रदान गरी यससम्बन्धी सूचना र सचेतना बढाउन उहाँले माग गर्नुभयो । तराईको सम्म मैदानमा बस्ने र काम गर्ने गधालाई उच्च पहाडी भू–भागमा कामका लागि लैजान नहुने उहाँको धारणा छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐनको मर्मअनुरुप पशु कल्याण सुनिश्चित गर्न पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले बताउनुभयो ।

यसैगरी नेपालमा हालसम्म घोडाको मात्र व्यावसायिक प्रजनन केन्द्र रहेको छ । नेपाली सेनाले चितवनको भरतपुरमा घोडा प्रजनन केन्द्र स्थापना गरेको छ । प्रजनन केन्द्रमा हाल माउ र बच्चा गरी १०० घोडा रहेको र प्रत्येक वर्ष उमेरले परिपक्व भई चढ्नलायकका घोडा काठमाडौँ ल्याइ तालिम गराउने गरिएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँको नारायणहिटी दरबार परिसरभित्र सेनाको उपत्यका कमाण्डअन्तर्गत नेपाल क्याभलरी रहेको र हाल त्यसमा १२० घोडा छन् । सेनासँग रहेका घोडामध्ये प्रजननअनुसार पर्सेरियन, अनुबेरियन र अरेबियन गरी तीन प्रकारका छन् भने काममा प्रयोग गरिनेअनुसार सबैभन्दा सानो घोडा ‘पोनी हर्स, त्यसभन्दा ठूलो ‘राइडिङ हर्स’ र सबैभन्दा ठूलो ‘कार्ट हर्स’ रहेका छन् ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com