दुबईमा किन घर खोज्दै छन् रुसी अर्बपतिहरू


प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार

युक्रेन युद्धपछि रुसमाथिको आर्थिक प्रतिबन्धको सामना गरिरहेका रुसी अर्बपतिहरूका लागि दुबई स्वर्गको रूपमा उदाएको छ । रुसी अर्बपति र उद्यमीहरू संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा आइपुगेको व्यवसायिक व्यक्तित्वहरूले बीबीसीलाई बताएका छन् ।
सन् २०२२ को पहिलो त्रैमासिकमा दुबईमा रुसी अर्बपतिहरूले सम्पत्ति खरिद गर्ने दरमा ६७ प्रतिशतले वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ ।

युक्रेनमा भएको हमलाको लागि संयुक्त अरब इमिरेट्सले रुसको निन्दा गरेको छैन र रुसमाथि कुनै प्रतिबन्ध लगाएको छैन ।
संयुक्त अरब इमिरेट्सले पनि रुसी नागरिकहरूलाई भिसा पनि दिइरहेको छ जसमाथि अहिलेसम्म प्रतिबन्ध लगाइएको छैन । जबकि धेरै पश्चिमी देशहरूले यसमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

एक अनुमान अनुसार पछिल्ला दुई महिनामा लाखौं मानिसले रुस छोडेका छन् । तर, यस सम्बन्धमा यकिन तथ्यांक भने उपलब्ध छैन ।
एक रुसी अर्थशास्त्रीले युद्ध सुरु भएको पहिलो १० दिनमा करिब २ लाख रुसीले देश छोडेको जानकारी दिएका छन् ।

दुबईमा आएर आफ्नो कार्यालय स्थापित गर्ने कम्पनीहरुलाई आफ्ना गतिविधि सुरु गर्नुअघि चालनुपर्ने प्रक्रियामा सेवा दिने कम्पनी वरचुजोनले पछिल्ला केही दिनमा भारी मात्रामा रुसी ग्राहक पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले युद्ध सुरु भएदेखि नै रूसी नागरिकहरूबाट पाँच गुणा बढी सोधपुछ पाइरहेका छौं,’ वरचुजोनका प्रमुख कार्यकारी अधिकृत जर्ज होजेइज भन्छन् ।

यसको कारणबारे जानकारी दिँदै होजेइगे भन्छन्, ‘उनीहरू भविष्यमा आउने आर्थिक मन्दीका कारण चिन्तित छन्, त्यसैले उनीहरु आफ्नो सम्पत्ति सुरक्षित गर्न यहाँ आइरहेका छन् ।’

रुसी नागरिकको आगमनका कारण दुबईमा विलासी बंगला र फ्ल्याटको अत्यधिक माग बढेको छ ।

घरजग्गा एजेन्टहरूका अनुसार रुसीहरू घर खोज्दै दुबई आउने गरेका छन्, जसका कारण घरजग्गाको मूल्य आकासिएको छ ।
दुबईस्थित रियल इस्टेट एजेन्सी बेटरहोम्सका अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा रुसीहरूले सम्पत्ति खरिद गरेको कारण मूल्य दुई तिहाइले बढेको छ ।

अर्का घरजग्गा कारोबारी मोडर्न लिभिङले बढ्दो माग पूरा गर्न रुसी भाषा बोल्ने एजेन्टहरूलाई काममा राखेको बीबीसीलाई बताए ।

मुख्य कार्यकारी अधिकारी थियागो केल्डासले तत्काल दुबई आएर बस्न चाहने रुसी रूसी नागरिकहरूबाट आफूलाई अत्यधिक फोन आइरहेको बताउँछन् ।

‘दुबई आउने मानिसहरूले लगानीका लागि मात्रै सम्पत्तिहरु किनिरहेका छैनन् । उनीहरु दुबईलाई आफ्नो दोस्रो गन्तव्य बनाउन खोजिरहेका छन्, ’ उनी भन्छन् ।

प्रतिभा पलायनः

धेरै बहुराष्ट्रिय एवं रुसी स्टार्ट–अप कम्पनीहरूले पनि आफ्ना कर्मचारीहरूलाई युएई पठाइरहेका छन् ।

रुसी नागरिक फआद फतुलेभ रुस र युक्रेनमा कार्यालय भएको ब्लकचेन टोक्नोलोजी कम्पनीका सह–संस्थापक हुन् ।

युद्ध सुरु भएपछि, उनी र उनका साथीहरूले आफ्ना सयौं कर्मचारीहरूलाई दुबईमा सारेका छन् ।

‘युद्धले हाम्रो गतिविधिमा असाध्यै धेरै असर पारेको छ । हामीले पहिले जस्तो काम गर्न सकेनौँ किनभने हामीले युक्रेन र रुसबाट सयौं मानिसहरूलाई बाहिर सार्नुप‍र्यो,’ उनी भन्छन् ।

संयुक्त अरब इमिरेट्समा व्यवसाय सञ्चालन गर्न सुरक्षित आर्थिक र राजनीतिक वातावरण भएकाले आफ्ना कर्मचारीहरूलाई युएईमा सार्ने निर्णय गरेको पनि उनले बताए ।

फतुलेभका अनुसार रुसी व्यापारीहरूलाई प्रतिबन्धका कारण काम गर्न गाह्रो हुँदै गएकोले रुस छोडिरहेका छन् ।

यस्तो अवस्थामा, अन्तर्राष्ट्रिय ग्राहक र ब्यान्डहरूसँग व्यापार गर्ने कम्पनीहरूको लागि चुनौती ठूलो थियो किनभने अधिकांश पश्चिमी कम्पनीहरूले रुसमा रहेका कम्पनीहरूसँग सम्बन्ध तोडेका छन् ।

गोल्डम्यान स्याक्स, जेपी मोर्गन र गुगल जस्ता विश्वव्यापी कम्पनीहरूले रसियामा आफ्ना कार्यालयहरू बन्द गरेका छन् र आफ्ना कर्मचारीहरूलाई दुबईमा सारिरहेका छन् ।

फतुलेभ भन्छन्, ‘प्रतिभाको पलायन निश्चित रुपमा भइरहेको छ । धेरै मानिसहरु निस्किरहेका छन् किनभने हाल व्यापारका लागि थुप्रै प्रतिबन्ध छन् । ’

आकासिएको दाम

रुसको केन्द्रीय बैंकलाई विदेशी बैंकमा रहेको अर्बौं डलरको विदेशी सञ्चिति प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसैबीच, केही रूसी बैंकहरू वित्तीय सन्देश प्रणाली स्विफ्टबाट हटाइएका छन् ।

यस्तो अवस्थामा रुसी सरकारले आफ्नो विदेशी मुद्रा कोषलाई सुरक्षित राख्न पूँजीसम्बन्धी प्रतिबन्ध लगाएको छ । यस दिशामा रुसले आफ्ना नागरिकलाई १० हजार डलरभन्दा बढीको विदेशी मुद्रासहित देश छाड्न प्रतिबन्ध लगाएको छ ।

तर नगद स्थानान्तरण समस्याको सामना गरिरहेकाहरूले क्रिप्टोकरेन्सीको सहारा लिएका छन् । रूसी खरीददारहरूले क्रिप्टोकरन्सीहरूमा भुक्तान गरिरहेका छन् ।

बिचौलियाले पनि यस प्रक्रियामा भूमिका खेलिरहेका छन् । रुसी क्रेताहरूबाट क्रिप्टोकरन्सीहरूमा पैसा लिने र बिक्रेताहरूलाई नगद उपलब्ध गराउने काम उनीहरुले गरिरहेका छन् ।

संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया जस्ता खाडी देशहरूले रुसमाथि प्रतिबन्ध लगाउने पश्चिमी देशहरूको मागलाई अस्वीकार गरेका छन् ।

गत फेब्रुअरीमा, युक्रेनमा रुसी आक्रमणको निन्दा गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा मतदानबाट टाढा रहनेमा चीन र भारत बाहेक संयुक्त अरब इमिरेट्स पनि ती तीन देशहरुमध्ये समावेश थियो ।

संयुक्त अरब इमिरेट्सले अप्रिल ७ मा संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट रुसलाई बाहिर निकाल्नको लागि संयुक्त राष्ट्र संघको महासभामा मतदान गर्नबाट आफूलाई अलग राख्यो ।-बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com