गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।

गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले यस अघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०÷२० वर्ष गठबन्धन टिक्छ ।” सभापति देउवाले थप्नुभयो, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन ।”

आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उहाँले भन्नुभयो, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।” उहाँले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जनताले चुनेर आएका पार्टीका साथीहरुको भोटले पार्टी सभापति भएको हुँ ।”

उहाँले भन्नुभयो, “नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाईभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।” सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “चितवनका साथीहरुको कर्तव्य छ । रेनु दाहाललाई सहयोग गर्नुपर्छ ।” भरतपुरको विकास भएको भन्दै उहाँले भन्नुभयो, “ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ ?”

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उहाँले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महत्वपूर्ण ठाउँ बन्ने छ । संसारका पर्यटक आउनेछन् । क्रिकट हेर्न संसारभरिका मानिस आउँछन् । काम गर्ने मान्छे नभए को हुन्छ ?” भरतपुर महानगरमा दाहालको नेतृत्वको जनप्रतिनिधिले बेरुजु शून्य बनाएको उहाँको भनाइ छ ।

गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ ।

गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो । उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो । “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०÷२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।”

उहाँले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो । गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो ।

गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उहाँले गठबन्धन दललाई केही न केही फाइदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।”

दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उहाँले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।” प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताउनुभयो । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उहाँले आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रेनुलाई पुष्पकमल दाहालको छोरीका रुपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।”

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ ।

“माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ”, उहाँले भन्नुभयो, “पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।”

वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताउनुभयो । “संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “अरुसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।”

वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गर्नुभयो । गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उहाँले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले पाँच दलीय गठबन्धनलाई देशैभरि जिताउनुपर्ने बताउनुभयो । “सङ्घीयता विरोधी फैलाइएका भ्रम चिर्नका लागि पाँच दलीय गठबन्धन जिताउनुपर्छ”, उहाँले भन्नुभयो, “पाँच वर्षभित्र के गर्न सकिन्छ, त्यो भनेर गर्नुपर्दछ ।”

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पाँच दलीय गठबन्धनका दलहरुले इमान्दारितापूर्वक उम्मेदवार जिताउन लाग्नुपर्ने बताउँदै भरतपुर महानगरको प्रमुखमा महिला उम्मेदवार पाएकोमा आम महिलाका लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको भन्दै विसं २०४६ पछि कांंग्रेससँगको गठबन्धन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल भएको छैन, अहिलेको गठबन्धन सफल हुन्छ ।”

कांग्रेसका अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले विगतमा झै कांग्रेसलाई धोका नदिन गठबन्धनका नेताहरूलाई अनुरोध गर्नुभयो । अन्तिम समयसम्म भरतपुर महानगरमा आफ्नो पार्टीको प्रमुख हुनुपर्ने माग रहेको भए पनि अब गठबन्धनको उम्मेदवार जिताउने एजेण्डा लिएर मतदाताकहाँ पुग्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रेनु दाहालले आफू आउँदो पाँच वर्षसम्म साझा प्रमुखका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com