बेलायतमा स्थानीय निर्वाचन शुरु, नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

बेलायतमा आजको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदबारहरु समेत रहेका छन् । आजको निर्वाचन इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नका लागि हो भने । नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयाँ सदस्यका पनि चुनाव भएको छ ।

इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सिलर चुनावी मैदानमा छन् ।

लन्डनका सबै ३२ बरोसहित प्रमुख शहरहरु लिड्स, म्यानचेष्टर, बर्मिङहम आदिमा निर्वाचन भएको छ । लण्डनमा मात्र १८०० बढी सिटका लागि मतदान भएको छ ।

साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर चुन्नेछन् भने एकहजार पेरिस काउन्सिलहरुले करिब १० हजार काउन्सिलर निर्वाचित गर्नेछन् ।

वेल्समा २२ लोकल काउन्सिलका १२३४ नयाँ काउन्सिलहरु चुनिदै छन् भने स्कटल्याण्डमा ३२ काउन्सिलमा १२२७ सिटका लागि मतदान जारी छ ।

सन् २०१९ मा सम्पन्न आमनिर्वाचनबाट प्रधानमन्त्री बोरिस जोन्सन सत्तामा आएपछि बेलायती मतदाताले पहिलोपटक बोरिस प्रशासनबारे आफ्नो मत जाहेर गर्दैछन् । पार्टीगेट काण्ड, कोभिड महामारी सामना, चर्को मूल्यवृद्धि, युक्रेन रुस युद्धमा सरकारको रेस्पोन्स आदि मुद्दाका कारण यो निर्वाचनमा सत्तारुढ दलले कस्तो नतिजा ल्याउने हो सर्वत्र आमचासो छ ।

बेलायतका स्थानीय काउन्सिलहरु सार्वजनिक सेवा जस्तै सार्वजनिक यातायात, विद्यालय, पुस्तकालय, पार्क, सडक मर्मतसम्भार आदिका लागि जिम्मेवार हुन्छन् । त्यसकारण पनि उल्लेखित सेवा जसले प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छ, मतदाताले ति उम्मेदवारलाई जिताउंछन् ।

यो निर्वाचनले प्रमुख राजनीतिक दलहरुको परफर्मेन्स ‘ग्रासरुट ‘ तहमा कस्तो रह्यो भन्ने चित्र पनि प्रस्तुत गर्दछ ।

यसपटक स्थानीय निर्वाचनमा झण्डै दर्जन नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा छन् ।

यहां भोट हुने दिनसम्म पनि मत माग्न पाइन्छ तर नेपाल जस्तो न यहां आमसभा हुन्छन्, न ब्यानर, ध्वजा पतका टांगिन्छ । न त मत नै किनबेच हुन्छ ।

यहां मतदाताहरुले पोष्टल भोट र प्रोक्सी (अरुलाई भोट दिन अधिकार) दिएर पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता हुन निर्वाचनको १२ दिन अघिसम्म पाइन्छ ।

उम्मेदवारहरु घर घर गएर लिफलेट्स बांड्दै भोट माग्छन्, सामाजिक सञ्जालतिर हल्का प्रचार प्रसार हुन्छ । चुनाव हुने दिन पनि मतदाता आफ्नो काम सकेर वा जागिर जानुअघि मतदान केन्द्र पुग्छन् । सार्वजनिक विदा नहुने भएकाले मतदान केन्द्र सुनसान लाग्छ ।

नेपाली उम्मेदवारहरुले पनि अन्य जस्तै सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, सुरक्षित सडक, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार आदि प्रतिवद्धता अघि सारेर मत मागे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com