बर्षको १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहाबारे विचार गर्दै बाइडेन


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

बर्षको १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहाबारे राष्ट्रपति जो बाइडेनले विचार गरिरहेको ह्वाइटहाउसले जनाएको छ । बाइडेन प्रशासनले यसबारे छिट्टै निर्णय सार्वजनिक गर्ने जनाइएको छ ।

यदि बाइडेन प्रशासनले ऋण मिनाहाको निर्णय गरेको खण्डमा यसबाट लाखौं अमेरिकनमा प्रभाव पर्नेछ भने आगामी निर्वाचनमा समेत यसको प्रभाव पर्ने आकलन गरिएको छ । राष्ट्रपति बाइडेनले चुनावी प्रतिवद्धतामा पनि १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहा गर्ने एजेण्डा प्रस्तुत गरेका थिए ।

केही प्रगतिशिल समुहहरुले बाइडेनले ऋण मिनाहाका लागि प्रोत्साहित गरिरहेका छन् । तर रिपब्लिकनहरु र मध्यपन्थी डेमोक्र्याट्सहरु भने बाइडेनको यस्तो योजनाबाट सन्तुष्ट छैनन् । बाइडेनका कतिपय सल्लाहकारहरुले यसबारेको कार्यकारी आदेशको बैधताबारे पनि प्रश्न उठाएका छन् ।

आर्थिकस्तर कमजोर भएका र अल्पसंख्यकहरुलाई बाइडेनको ऋण मिनाहाले आर्थिक रुपमा सबल बनाउन मद्दत गर्ने कतिपय सल्लाहकारहरुको सुझाव छ । सार्वजनिक कलेज र युनिभर्सिटीमा अध्ययन गरेका वा अल्पसंख्यक र अश्वेतहरुलाई विशेष सेवा दिने कलेजमा अध्ययन गरेकाहरुको आम्दानी १ लाख २५ हजारभन्दा कम भएमा विद्यार्थी ऋण मिनाहा गर्ने एजेण्डा बाएडेनले चुनावमा अगाडि सारेका थिए ।

५० हजारभन्दा कम ऋणमात्र मिनाहा गर्ने योजनामा बाइडेन प्रशासन रहेको जनाइएको छ । सिनेटर एलिजाबेथ वारेन, चक शुमर लगायतले बाइडेनले ५० हजारसम्मको विद्यार्थी ऋण मिनाहा गर्न प्रेरित गरिरहेका छन् । बाइडेन प्रशासनले अहिले नै यसबारे कुनै निर्णय गरेको छैन तर बाइडेन भने १० हजारसम्म ऋण मिनाहाको पक्षमा छन् ।

अमेरिकामा झण्डै ४ करोडले १ दशमलव ६ ट्रिलियन विद्यार्थी ऋण लिएका छन् । जसमध्ये झण्डै ९० प्रतिशत ऋण तिर्न बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com